अत्तरिया : स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । “स्वस्थ जीवनशैलीका लागि नियमित जुम्बा, नृत्य, योग, ध्यान र व्यायाम गरौँ, नसर्ने रोगबाट बचौँ” भन्ने मूल नाराका साथ सडक नाटक, नृत्य तथा गायन कार्यक्रम सञ्चालन गरिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्र, धनगढी कैलालीको आयोजनामा डोटीको जोरायल गाउँपालिका-२ बुडर, डडेल्धुराको परशुराम नगरपालिका-१२ जोगबुढा र कैलालीको गोदावरी नगरपालिका-२ अत्तरिया बसपार्कमा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा कलाकारहरू सुरेश चोखाल, प्रवेश दाहाल, शेर बहादुर बिष्ट, चेतराज फुलारा, लक्ष्मी साउद क्षेत्री, सिंगम परियार लगायतको टोलीले विभिन्न सांगीतिक तथा नाट्य प्रस्तुति मार्फत जनचेतना फैलाएका थिए ।
स्वस्थ जीवनशैली अपनाउन नियमित जुम्बा, नृत्य, योग, ध्यान तथा व्यायाम अत्यावश्यक रहेको कार्यक्रममा सहभागि कलाकार सुरेश चोखालले बताए । यस्ता क्रियाकलापले शरीरलाई तन्दुरुस्त राख्नुका साथै नसर्ने रोगबाट बच्न मद्दत पुग्ने उनले उल्लेख गरे ।