अत्तरिया : कैलालीको अत्तरियामा नेपाली सेनाले बलमिच्याई गरेर भोगाधिकारमा लिएको जग्गा फिर्ता लिन संघर्ष समिति गठन गरिएको छ ।
अत्तरिया बसपार्क निर्माण समितिको आयोजनामा सेनाले बलमिच्याई गरेर भोगाधिकारमा लिएको बसपार्क लगायत आसपासको जग्गा फिर्ता लिन संघर्ष समिति गठन गरिएको हो । बसपार्क र आसपासका ६१ घरधुरीको संरक्षणको लागि शुक्रबार अत्तरियामा छलफल संगै अत्तरिया सरोकार समन्वय समिति गठन गरिएको छ ।

शुक्रबार बसेको स्थानियको भेलाले ३ सदस्यीय समिति बनाइएको छ । अत्तरिया बसपार्क निर्माण समितिका अध्यक्ष गोकर्ण भट्टको संयोजकत्वमा समिति बनाइएको हो । समितिको सदस्यमा राजेन्द्र खडका र वीर बहादुर भाटलाई सदस्य तोकिएको छ । समितिले सबै पक्षसंग समन्वय गरेर थप कार्यक्रम सार्बजनिक गर्ने समितिका सदस्य खड्काले बताए ।
बिगत केही समय देखि अत्तरिया बसपार्क, लामिताल र ६१ घरधुरी सहितको जग्गा नेपाली सेनाले आफ्नो भोगाधिकार भित्र पर्ने भन्दै खाली गराउन दबाब दिदै आएको छ ।
शुक्रबार अत्तरियामा गरिएको छलफल कार्यक्रमका सहभागीले राजा ज्ञानेन्द्र शाहको शासनकालमा बसपार्क लगायत अत्तरिया बजारको साढे १७ हेक्टर जग्गा कुनै निकाय सँग समन्वय नगरी बलमिच्याई गरी आफ्नो नाममा लिएकाले छोड्नुपर्ने बताएका छन् । उक्त जग्गा स्थानीयले भोगाधिकार गरिरहेकै अवस्थामा सेनाले हवाई सर्वेक्षण गरेर सङ्कटकालमा आफ्नो नाममा गरेकाले छोड्नुपर्ने बताएका थिए ।