धनगढी : कैलालीमा बढ्दै गएको लागूऔषधको कारोबार रोक्न नेपाल भारत सीमा सुरक्षाकर्मीको संयुक्त अपरेसन संचालन गरिएको छ ।

गत चैत्र अन्तिम साता भारतको पलियामा भएको सुरक्षाअधिकारीको समकक्षी बैठकमा लागूऔषधको कारोबारमा संलग्नहरू विरुद्ध संयुक्त अपरेसन गर्ने सहमति भएको थियो । बैठकमा कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले भारतीय कारोबारीको कारोबारस्थलमा छापा मारेर नियन्त्रण गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
सोही समझदारी अनुसार नेपालका सुरक्षा अधिकारीले उपलब्ध गराएको विवरणका आधारमा भारतीय प्रहरीले कैलालीको धनगढी नजिक भारतीय बजार पलिया र बनगाउँबाट गत साता चार जना भारतीय कारोबारीहरूलाई ठूलो परिमाणमा ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
कैलालीकै सीमा नाका भजनी, कुसुमघाट र टीकापुर क्षेत्रमा लागु पदार्थ कारोबार गर्ने भारतीय कारोबारीहरूको सूची बनाई पठाइएको र भारतीय प्रहरीले उनीहरूको खोजीकार्य भइरहेको जानकारी दिएको कैलाली प्रशासनले जनाएको छ । पछिल्ला वर्षमा कैलाली लगातयका क्षेत्रका युवाहरू लागूऔषधबाट आक्रान्त छन् ।