बैतडी : बैतडीमा जंगलमा लागेको डढेलोमा परेर २ महिला घाइते भएका छन ।
दशरथचन्द नगरपालिका – १ धेउमडाकी ५४ वर्षीया मानमती भुल र ४६ वर्षीया धौली भुल घाइते भएका हुन् ।

घरनजिकैको स्थानीय जंगलमा घाँस काट्ने क्रममा हुरीसँगै आएको डढेलोमा परी दुवै जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
घाइते दुवैलाई स्थानीयहरुले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल बैतडी ल्याएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी खेमबिक्रम केसीले बताए ।
दुवै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।