अत्तरिया : कैलालीको गोदावरी नगरपालिका स्तरीय बाल सञ्जाल समिति गठन गरिएको छ । नगरपालिकाको वडा स्तरीय बाल सञ्जाल र बाल क्लवहरुको भेलाबाट नगरस्तरीय बाल सञ्जाल गठन गरिएको हो ।
सञ्जालको अध्यक्षमा दिलिप भट्ट, उपाध्यक्षमा सविना मगर, कोषाध्यक्षमा नविन बोहरा, सचिवमा तुलसी ओली र सह सचिवमा अनमोल कुन्जेडा चयन भएका छन । समितिमा अन्य २० जना सदस्य रहेका छन । महिला तथा बालबालिका शाखा प्रमुख गोदावरी खत्रीले यसअघि विद्यालय, समुदाय स्तरीय क्लव र वडा स्तरीय बाल सञ्जाल गठन गरिसकेपछि नगर सञ्जाल गठन गरिएको बताइन् ।

आइतबार देखि अत्तरियामा नगरपालिकाको महिला तथा बालबालिका शाखाले सयुक्त रुपमा ३ दिने बाल भेला, बाल समिति संरक्षणका सदस्यहरुसंग अन्तरक्रिया र बाल क्लवलाई खेल सामग्री वितरण कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा ३० बाल क्लव र वडा स्तरीय सञ्जालका ६५ जना बालबालिकाको सहभागी रहेको थियो ।
तीन दिने कार्यक्रममा बालबालिकाको हक हित र अधिकारका सम्बन्धीका कुराहरु, लागूऔषध र्दुव्यसनी बारे जानकारी, बालबालिका सम्बन्धी ऐन तथा बाल क्लब, सञ्जालका अधिकार र कर्तव्य लगायतका विषयमा छलफल बालबालिकाहरुलाई जानकारी गराईएको बताइन् ।
त्यस्तै बाल विवाह, बाल श्रम, बालबालिका बेचविखन तथा गैर कानूनी ओसार पसार, हिंसा, शोषण, यौन दुव्र्यवहार, असहाय, अपाङ्गता भएका तथा सडक बालबालिकाको संरक्षण र व्यवस्थापन लगायतका विषयमा पनि सहभागीहरुलाई जानकारी गराईएकोे उनले बताइन् ।
कार्यक्रममा बाल क्लवलाई खेलकुदका सामग्री अन्तरगत भलिबल, फुटबल, नेट, ब्याटमिन्टन, कर्क, स्केपीड सामाग्री वितरण गरिएको थियो । उक्त खेल सामग्री गोदावरी नगरपालिकाकी उपप्रमुख सारदा रोकाया र प्रवक्ता गोपाल दत्त भट्टले सयुक्त रुपमा वितरण गरेका थिए ।