कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाइएको छ ।

भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बसपार्क नजिक घरटहरा बनाएर व्यापार व्यवसाय गर्दै आएका व्यापारीले जमिन खाली गरेका हुन् । सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने अभियानअन्तर्गत उक्त जमिन खाली गराइएको बताइएको छ ।
खाद्यका प्रमुख राजु मोक्तानका अनुसार एक बिघा सात कट्ठा १२ धुर जमिनमा बनाइएका झण्डै एक सय ५० संरचना हटाइएको छ भने सो जमिन कम्पनीले उपयोग गर्नसक्ने गरी फिर्ता ल्याइएको छ ।
स्थानीय प्रशासन र कार्यालयको निर्देशनपछि व्यापारीले आफै संरचना हटाएका जनाइएको छ ।