कैलाली : कैलालीको गोदावरी नगरपालिका-४ स्थित भीमदत्त राजमार्गअन्तर्गत बूढीतोला सडकखण्ड भासिएको १० महिनापछि मर्मत गरिने भएको छ ।
सडक डिभिजन कार्यालय कञ्चनपुरका इञ्जिनीयर तारानाथ सिग्देलले सडकखण्ड मर्मतका लागि जीएसआई हटैराज जेभी निर्माण कम्पनीसँग ६ करोडमा ठेक्का सम्झौता भएको बताए । गत साउन २३ गते पहिरो गएपछि सडक झण्डै चार सय मिटर भासिएको थियो ।

सम्झौताअनुसार सडकमाथिको भाग कटान गर्ने र तलबाट आधुनिक पर्खाल निमार्णका साथै पानी निकास हुनेगरी निर्माण गरिने इन्जिनीयर सिग्देल बताए । हाल भासिएको सो सडक सञ्चालनका लागि अस्थायीरूपमा मर्मत गरिए पनि सवारीसाधन सञ्चालनमा समस्या भइरहेको छ।
राजमार्गको भ्यागुतेपानी, बूढीतोलालगायतका क्षेत्रमा वर्षातका बेला पटक-पटक पहिरो जाने गरेका कारण सुदूरपश्चिमका सात पहाडी जिल्लामा हरेक वर्ष समस्या हुने गरेको छ ।
सोही सडकखण्डको भ्यागुतेपानीमा एक सय ५० मिटर सडक कालोपत्रका लागि ४० लाखमा ठेक्का सम्झौता भइसकेको छ । –