कैलाली : सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा चार करोड १६ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ ।ट्राफिक प्रहरीले चालु आर्थिक वर्षकोे साउनदेखि वैशाख मसान्तसम्म को अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको हो ।
सो अवधिमा प्रदेशभरी ट्राफिक नियम उल्लङ्घन गर्ने ६२ हजार नौ सय ३१ जना सवारी चालकलाई कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीले जानकारी दिए ।

त्यस्तै सो अवधिमा भएका दुई सय ६० वटा सवारी दुर्घटनाबाट एक सय १५ पुरुष, २० महिला र १० बालबालिका गरी एक सय ४५ जनाको मृत्यु भएको तथा चार सय ५५ जना घाइते भएको उनले जानकारी दिए ।
गत आर्थिक वर्ष २०७९/८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा परेको र सो कारबाहीबाट छ करोड ४३ लाख ७२ हजार राजस्व सङ्कलन भएको थियो ।
सोही वर्ष दुई सय ५५ सवारी दुर्घटनाबाट एक सय ७७ जनाको मृत्यु, एक सय ९७ जना गम्भीर घाइते र दुई सय ७६ जना सामान्य घाइते भएको निमित्त कार्यालय प्रमुख उप्रेतीले जानकारी दिए ।
चालकसँग एक मिनेट, यात्रुसँग दुई मिनेट लगायतका जनचेतना मूलक कार्यक्रम गर्दै आए पनि सवारी दुर्घटना नघटेको उनको भनाइ छ । उनले भने, ‘ठूला सार्वजनिक सवारी दुर्घटनामा त कमी आएको छ, ज्यान गुमाउनेको सङ्ख्या पनि घट्दै गएको छ, साना तथा व्यक्तिगत सवारी दुर्घटना बढेका छन ।