सुदूरपश्चिममा नवनियुक्त मुख्यमन्त्री शाहसँगै ६ मन्त्री र तीन जना राज्यमन्त्रीले लिए सपथ

मन्त्रीमण्डलमा मुख्यमन्त्रीसहित कांग्रेसका ५‚ एमालेका ४ र नाउपाका एकजना

धनगढी : सुदूरपश्चिममा नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाह संगै ६ मन्त्री र तीन जना राज्यमन्त्रीले सपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कमलबहादुर शाह र अन्य ६ मन्त्रीलाई प्रदेश प्रमुख नजिर मियाँले सपथ खुवाएका छन् । त्यसलगत्तै ३ जना राज्यमन्त्रीहरुलाई पनि मुख्यमन्त्री शाहले सपथ खुवाएका छन् ।

नेपाली काग्रेंसबाट मुख्यमन्त्री शाहसँगै आर्थिक मामिला मन्त्रीमा बहादुरसिहं थापा, सामाजिक विकास मन्त्रीमा मेघराज खड्का, आर्थिक मामिला राज्यमन्त्रीमा प्रकाश बम र सामाजिक विकास राज्यमन्त्रीमा सरस्वती खड्काले सपथ लिएका छन् । त्यस्तै एमालेबाट भौतिक पुर्वाधार विकास मन्त्रीमा शुरेन्द्रबहादुर पाल, भुमी, व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा हिरा शार्की नियुक्त भएर सपथ लिएका हुन् ।

भौतिक पुर्वाधार विकास राज्यमन्त्रीमा निर्मला साउँदले सपथ लिएकी छन् । त्यस्तै नागरिक उन्मुक्तिबाट पूर्व सामाजिक विकास मन्त्री लक्ष्मण किशोर चौधरीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको रुपमा सपथ लिएका हुन् । एमालेका पाल, थापा र सार्की यसअघि थोरै समयका लागि मन्त्री बनेका थिए ।

कमलबहादुर शाह दोस्रोपटक मुख्यमन्त्री बनेका छन् । उनले यसअघि १४ महिना नेतृत्व गरेर राजनीतिक समीकरण फेरिएपछि गत चैत २२ गते राजीनामा दिएका थिए । पुनः समीकरण बदलिंदा मुख्यमन्त्री बनेका एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले गत शुक्रबार राजीनामा दिएपछि शाह फेरि मुख्यमन्त्री बनेका हुन् । उनी सुदूरपश्चिमका पाचौं मुख्यमन्त्री हुन् ।

प्रदेशसभाको पहिलो कार्यकालको ५ वर्ष नै माओवादी केन्द्रका त्रिलोचन भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री भएका थिए । तर २०७९ मंसिरको चुनावबाट गठन भएको प्रदेशसभामा पहिले एमालेका राजेन्द्र रावल, त्यसपछि कांग्रेसका कमलबहादुर शाह र उनीपछि एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री बनेका थिए । १७ असारमा काङ्ग्रेस र एमालेको गठबन्धन बनेपछि सोडारी सरकारबाट बाहिरिएको थियो। त्यसपछि अल्पमतमा परेका सोडारीले गत शुक्रबार प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिएका थिए ।

मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीले सोमबारनै पदभार ग्रहण गरेका छन् ।

Loading...