डडेल्धुरा : जातीय विभेदमुक्त समाज, धार्मिक समावेशिता र सामाजिक सद्भावको अभियानमा २७ वर्षदेखि योगदान पुर्याउँदै आएका ज्योतिषाचार्य पण्डित गणेश प्रसाद पन्त सम्मानित भएका छन् । डडेल्धुरा सुनचाँदी व्यवसायी संघले सामाजिक समानता, जातीय सद्भाव तथा धार्मिक स्वतन्त्रताको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पन्तलाई सम्मान–पत्र प्रदान गरेको हो ।

दलित समुदायको जन्मदेखि मृत्युसम्मका वैदिक धार्मिक संस्कार तथा कर्मकाण्डमा समान सहभागिता सुनिश्चित गर्न र सामाजिक सशक्तीकरणका क्षेत्रमा पन्तले महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । धर्म, संस्कार र परम्परालाई जातीय विभेदको आधार नभई सामाजिक एकता, सहअस्तित्व र मानवताको माध्यम बनाउनुपर्ने सन्देशसहित उनले लामो समयदेखि समावेशी धार्मिक अभियान सञ्चालन गर्दै आएका छन् ।
उनको अभियानले सबै जातजाति, वर्ग, समुदाय, महिला तथा पुरुषको समान धार्मिक सहभागिता र मानवीय सम्मानको महत्व उजागर गर्दै आएको छ ।पन्तलाई गरिएको सम्मानलाई धार्मिक क्षेत्रमा समान अधिकार, सामाजिक न्याय र विभेदरहित समाज निर्माणको अभियानप्रतिको सम्मानका रूपमा लिइएको छ ।