बाजुरा : राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित बिहीबार बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका वडा नम्बर ९ मा पर्ने बडीमालिकाको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गरेका हुन् ।
राष्ट्रपति पौडेलले बिहीबारै त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाट्यश्वरी मन्दिरको नवनिर्मित भवन उद्घाटन गरेका छन् । राष्ट्रपति पौडेल उक्त कार्यक्रममा सहभागी हुन बुधबार अपराह्न सुर्खेत पुगेका हुन् ।
उद्घाटन समारोहमा उनले परापूर्वकालदेखि यी स्थलहरूमा पूजाअर्चना गरी आफ्नो र देशका लागि विभिन्न मनोइच्छित वरदान माग्ने गरेको सुन्दै आएको उल्लेख गर्दै आफूले पनि सम्पूर्ण नेपाली जनताको सुख, शान्ति र मुलुकको समृद्धिका लागि प्रार्थना गरेको बताए। बडीमालिका क्षेत्रमा आएर प्रकृतिको अनुपम दृश्य देख्न पाउँदा आफूलाई जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा आएको महसुस भएको पनि उनले बताए ।
‘यहाँ मैले प्रकृतिको अनुपम र मनोरम जुन छटा देखेँ, मलाई स्वर्गमै आएको महसुस भएको छ। नाट्यश्वरी देवीको मन्दिर प्रांगणमा उभिएर देवीलाई सम्झेर म भन्न चाहन्छु, यहाँ रहेको प्रकृतिको छटाबाट साँच्चैको स्वर्ग कस्तो हुन्छ भन्ने पहिलो पटक हेर्न पाएको छु । मलाई बाजुराबासी स्वर्गका बासिन्दा जस्तो लागेको छ। विपन्नतामा छौं भन्ने तपाईंहरूलाई लाग्ला, अब त्यो भावना मनमा नराख्नुहोला। यो ठाउँको कृषि, पर्यटनको विकास हुन्छ। स्तरीय बाटो खुल्छ र यो भूमि सुन्दरता र वैभवले भरिपूर्ण हुनेछ,’ उनले भने ।
राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई प्रसिद्ध धार्मिकस्थल एवं दिव्यधामहरूले एकताको सूत्रमा आवद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सदभाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताए ।
‘बाजुरामा ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक धरोहरहरू हुँदाहुँदै पनि विकास र समृद्धिमा पछाडि परेको छ। स्रोत र साधनका लागि अथाह सम्भावना बोकेको यो भूमिको विकासका लागि राज्यको उचित ध्यान जाने विश्वास व्यक्त गर्छु,’ राष्ट्रपति पौडेलले भने ।
त्रिवेणीमा अवस्थित बडीमालिका दिव्यधामलाई नेपालकै एक अलौकिक धरोहरका रूपमा लिइने र यस्तो दिव्यधाममा आएर बडीमालिकाको दर्शन र नाट्यश्वरी देवीको दर्शन गर्न पाएकोमा उनले खुसी प्रकट गरे ।