अत्तरिया : देउसी-भैलोबाट उठेको रकमबाट कैलालीको अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा आश्रित बालबालिकालाई सहयोग गरिएको छ । गौरीगंगा नगरपालिका-१ चौमालामा रहेको पीसी कम्प्युटर एण्ड इन्स्च्युटले देउसी-भैलो कार्यक्रमको आयोजना गरेर ३० हजार रुपैयाँ संकलन गरेको थियो ।

संकलन भएको सो रकम बराबरको लुगाकपडा र खाद्यन्न खरिद गरेर मंगलबार सेभ हाउसमा आश्रित बालबालिकालाई हस्तान्तरण गरिएको पीसी कम्प्युटर एण्ड इन्स्टिच्युटका सञ्चालक प्रदेशु चौधरीले बताए । साथै बालबालिकालाई एक छाक भोजन समेत गराएको उनले बताए ।
उनले विगतको वर्षहरूमा पनि देउसी भैलो कार्यक्रममा आयोजना गरी रकम सङ्कलन गरेर विभिन्न सामाजिक संस्थाहरू, विपन्न वर्ग, असहाय, अशक्त लाई सहयोग गर्दै आइरहेको बताए । एकातिर संस्कृतिको जगेर्ना पनि भइरहने र अर्कोतिर सामूहिक सामाजिक कार्यको बुलन्द उदाहरण बन्न सकिने इन्स्टिच्युटका सञ्चालक चौधरीले बताए ।