बाजुरा : बाजुरामा स्कार्पियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडीमालिका नगरपालिका-८ मा सुपप्र ०१-००१ च ४३१६ नम्बरको स्कार्पियो दुर्घटना हुँदा स्कार्पियोमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिका-१७ की ३१ वर्षीया गायत्री पन्त र भीमदत्त नगरपालिका-१८ कि ५२ वर्षीया राधिका भट्टको मृत्यु भएको हो ।
प्रहरीका अनुसार ३१ वर्षीया पन्तको घटनास्थलमै मृत्यु भएको हो भने ५२ वर्षीया भट्टको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते छन् ।
बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त-१७ का ३९ वर्षीय लोकेन्द्र पन्त र कञ्चनपुरकै कृष्णपुर नगरपालिका-५ का मोहनदेव भट्ट घाइते छन् । उनीहरुलाई जिल्ला अस्पताल बाजुराबाट उपचारका लागि धनगढी पठाईएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक दिलिप गिरीले बताए ।
स्कार्पियोमा ५ जना सवार रहेका र स्कार्पियो अनियन्त्रित भई सडकबाट ८० मिटर तल खसेको बाजुरा प्रहरीले बताएको छ । जिप कोल्टीदेखि मार्तडी गइरहेको थियो। दुर्घटनाको कारण भने खुलेको छैन ।