धनगढी : धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार हुँदै गएको छ । मेयर हमालको पछिल्लो स्वास्थ्य अवस्था बुझ्न नेता, सांसद, मन्त्री, प्रधानसेनापति, पूर्व मन्त्रीदेखि पूर्व प्रधानमन्त्रीसम्मै हमालको निवास पुगेका छन् । हिजो मात्रै पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हमालसँग भेटघाट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

माओवादी केन्द्रद्वारा कञ्चनपुरको पुनर्वासमा शनिबार आयोजित खबरदारीसभाका लागि यहाँ आएका दाहालले हमालको धनगढीस्थित निवासमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । यस्तै शनिबार नै परराष्ट्रमन्त्री आरजु राणा देउवा, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, मुख्यमन्त्री कमलबहादुर शाह, प्रधानसेनापति अशोकराज सिग्देलले समेत भेटघाट गरेका छन् ।
नगरप्रमुख हमालको स्वास्थ्य अवस्था बुझ्न चर्चित भारतीय टेलिश्रृंखला ‘महाभारत’मा कृष्णको भूमिका निर्वाह गरेका अभिनेता नीतिश भारद्धाज लगायतका व्यक्तिहरु हमालको निवासमा पुगेका छन् । नगरप्रमुख हमालको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको छ। मंसिर २१ गते उनलाई मष्तिष्कको पक्षाघात भएपछि भारतको दिल्लीस्थित म्याक्स सुपरस्पिसियालिटी हस्पिटलमा उपचार गरिएको थियो ।
उपचारपछि क्रमसः स्वास्थ्यमा सुधार भएपछि एक साताअघि उनी धनगढी फर्किएका छन्। हाल आफ्नै घरमा चिकित्सकको निगरानीमा रहेका नगरप्रमुख हमाल सामान्य बोलचाल गर्न र सहयोगीको सहारामा आँगनमा हिँड्डुल गर्न थालेका छन्। उनलाई भेट्न र स्वास्थ्यलाभको कामना गर्न दैनिक घुइँचो लाग्ने गरेको छ । उनले केही दिन आराम गर्नुपर्ने अवस्था रहेको र चाँडै सञ्चो भएर काममा फर्किने उनले विश्वास गरेका छन् । नगरप्रमुख हमाल स्वतन्त्रबाट निर्वाचित भएका थिए ।