धनगढी : धनगढीमा मानव सेवा आश्रमले भवन निर्माणर्थ आयोजना गरेको श्रीमद् भागवत् सप्ताह ज्ञान विज्ञान महायज्ञ आजदेखि सुुरु भएको छ । मानव सेवा आश्रमको आयोजनामा सुरु भएको महायज्ञको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुुर शाहले औपचारिक रुपमा उद्घाटन गरेका छन् ।
महायज्ञ धनगढी उपमहानगरपालिका-१ को पशुपति टोलस्थित सुदूरपश्चिम महोत्सव हुने स्थानमा सञ्चालन भइरहेको छ । महायज्ञको औपचारिक उद्घाटन गर्नुअघि बिहान शिवपुुरी धामबाट महायज्ञस्थलसम्म बाजागाजा, सांस्कृतिक झाँकीसहितको कलश यात्रा निकालिएको थियो ।
कलश यात्रामा सडकआश्रित मानवहरूको परिदृश्य झल्काउने कलाकारहरूको टोली, विभिन्न सँस्कृतिक बाजागाजासहित भुवा, हुड्केली, हलिया, पुतला, गौरा, सखिया, होली,देउडा,लाखेनाच सहित साँस्कृतिक झाँकी सहित शंखनाद, भजन कीर्तन गर्ने टोली रहेको थियो ।
महायज्ञ अगामी ३० माघसम्म चल्ने आयोजक मानव सेवा आश्रमले जनाएको छ । महायज्ञबाट मानव सेवा आश्रमले धनगढीमा भवन निर्माण गर्न पाँच करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ ।

हरेक दिन भाष्कर कमलनयन गौतमले बिहान साँढे ११ बजेदेखि साँढे ४ बजेसम्म संगीतमय श्रीमद भागवत कथा वाचन कथा वाचन गर्नेछन् भने साँझ साँढे ४ बजे पछि दिव्य आरती तथा प्रसाद वितरण हुने मूल आयोजक समितिले जनाएको छ ।
महायज्ञमा हरेक दिन दिन बिहान ५ बजेदेखि ७ बजेसम्म पतंजली योगपीठका केन्द्रीय प्रभारी, लवदेव मिश्र लगायतबाट योग शिविर सञ्चालन हुनेछ । विद्यार्थी माझ सकारात्मक सोच, मानवता प्रवद्र्धन एवं व्यवहारिक शैक्षिक ज्ञान कार्यक्रमहरु २ सेसनमा बिहान साँढे ७ बजे देखि साँढे ९ बजेसम्म र बिहान १० बजे देखि ११ बजे सम्म हुने छन् ।
हरेक दिन साँझ ६ बजेदेखि राष्ट्रिय र स्थानीय कलाकारहरूद्वारा भजन, कीर्तन र नृत्य कार्यक्रम रहनेछ । ख्यातिप्राप्त कलाकारहरूबाट गीत, संगीत, भजन, कीर्तन, झाँकी, देवलीला, नृत्यहरू आयोजना हुनेछ । हरेक दिन महायज्ञमा पाञ्चायन पूजा, लक्ष्यवर्तिका, पितृ उद्दार, धान्याञ्चल, तुलादान, ग्रहशान्ति, ८४ पूजा, महामृत्युञ्जय, जप,पाठ परायण आदि हुने छन् ।
समितिका अनुसार महायज्ञमा उपस्थित भक्तजनहरूको ७ दिननै चिकित्सक तथा स्वास्थ्य विशेषज्ञहरूबाट स्वास्थ्य परिक्षण सञ्चालन हुनेछ ।