धनगढी : कैलालीको अत्तरियाकी जानदेवी बुढाले न्याय खोज्दाखोज्दै ज्यान गुमाएकी छन् । गोदावरी नगरपालिका-१ अत्तरिया, विजयनगरमा बस्दै आएकी जानदेवीले आफू विरुद्ध भएको अन्यायका विरुद्ध न्याय खोज्दै गर्दा ज्यान गुमाएकी हुन् ।
बर्दियाको बाँसगढी नगरपालिका-३ सल्यान टोलकी जानदेवी बुढाले डेड वर्ष पहिला अत्तरियाका कृष्णबहादुर रावलसँग प्रेम विवाह गरेकी हुन् । प्रेम विवाह गरेका उनीहरूको सम्बन्ध सुरुका दिनहरूमा राम्रो थियो । पछि श्रीमानले बेवास्ता गरेको, सासूले कुटपिट गर्ने गरेको, खाना नदिएको, शारीरिक तथा मानसिक यातना दिएको भन्दै उनी प्रहरीमा पुगिन् ।
प्रहरीमा निवेदन परेपछि छलफलका लागि उनको घर-परिवारका सदस्यहरू र माइती पक्षलाई प्रहरीले बोलायो । उनीहरूको बिचमा प्रहरीले मिलापत्र गर्यो । उनीहरू घर गए । तर, उनी माथिको हिंसा रोकिएन् । उनी गोदावरी नगरपालिकाको न्यायिक समितिमा पनि गइन । महिला तथा बालबालिका सेभ हाउसमा पनि जानदेवी बुढा पुगेकी थिइन् । श्रीमान तथा परिवारका सदस्यहरूबाट पीडित भएको भन्दै उनी न्यायको खोजीमा भौँतारिएकी हुन् ।
नेपाल प्रहरी, माइती पक्ष, न्यायिक समिति, सेभ हाउस लगायतबाट पनि सहयोग नपाएकी उनले संसार छोडेकी छन् । उनी शुक्रवार बिहान घरमा मृत फेला परेकी हुन् । बिहिवार राति भाइ सुरजित बुढालाई उनले ‘सबै जना लागेर कुट्न लागेका छन् । गाली गर्छन । पागल भन्छन,’ भनेर म्यासेज पठाएकी थिइन्। राति भाइलाई म्यासेज गरेकी जानदेवी दोस्रो दिन घरमा मृत फेला परेकी हुन् । प्रहरीले शुक्रवार बिहान कोठा भित्र काठको सिडिमा झुन्डिएको अवस्थामा शव फेला पारेको हो ।
उनका भाइ सुरजितले दिदीलाई घर परिवारले मर्न बाध्य पारेको बताएका छन् । उनले दिदीको शव सिडीमा झुन्डिएको भए पनि घुँडा भुईँमा टेकिएको र चोटपटक लागेको अवस्थामा फेला परेको बताएका छन् । प्रहरीले शनिवार बिहान मात्र उनको शव उठाएको छ । शुक्रवार बिहानदेखि शवको प्रहरीले सुरक्षा दिइको थियो । शनिवार बिहान माइती पक्ष आएपछि मात्र उनको शव उठेको हो ।
सुरजितले राति दिदीले मेसिज गरेको भए पनि बिहान मात्रै थाहा पाएका थिए । उनले घरेलु हिंसामा परेकी दिदीले सबै ठाउँ भतारिदा पनि न्याय नपाएको बताएका छन् । उनका काका नरबहादुर भण्डारीले पनि बिहिवार राति गालीगलौज कुटपिट गरिरहेको भनेर फोन मार्फत जानदेवीले भनेको बताए । उनले सधैँ यस्तै परिरहने भएकाले आफ्नो कोठामा सुरक्षित बस भनेको बताए ।
उनले भने, ‘कोठामा जान भने, भोलि सम्झाउछु भनेको थिए । दोस्रो दिन फोन बन्द थियो । जानदेवीको फोन नलागेपछि सासूलाई फोन गरे । “कोठाभित्र छ, ढोका खोलेको छैन” भनेपछि शङ्का लागेर फोनबाटै प्रहरीलाई खबर गरेको हो ।’ सुर्खेतमा रहेका उनले १०० नम्बरमा फोन गरेका थिए । जिल्ला प्रहरी कार्यालय, सुर्खेतले कैलालीको नम्बर दिएपछि उनले कैलाली प्रहरीलाई खबर गरेका हुन् । उनले खबर गरेपछि प्रहरी घरमा गएको थियो । घरमा गएको प्रहरीले जानदेवीलाई मृत फेला पारेको हो ।
सुरजितले मृतकका श्रीमान् २४ वर्षीय कृष्ण रावल र सासू गुमादेवी रावलका विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेका छन् । उनले इलाका प्रहरी कार्यालय, मालाखेतीमा जाहेरी दिएका हुन् ।
इलाका प्रहरी कार्यालय, मालाखेतीका प्रमुख गंगाबहादुर थापाले घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएपनि पोस्टमार्टम रिपोर्टपछि थप खुल्ने बताएका छन् । उनले मृतकका श्रीमान् र सासूलाई नियन्त्रणमा लिएको बताए । यसअघि घरेलु हिंसाको मुद्दामा मृतकले ठाडो निवेदन दिएकोमा परिवार सबै बसेर मिलापत्र गरेको समेत मालाखेती प्रहरीले बताएको छ ।
