कैलालीमा मोटरसाइकलको ठक्करबाट घाइते महिलाको मृत्यु

धनगढीः कैलालीको टीकापुरमा सवारी दुर्घटनामा परेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

टीकापुर नगरपालिका-७ को बटनपुरस्थित भित्री सडकखण्डमा जेठ २ गतेको बिहान करिब १० बजे पैदल हिँडिरहेकी ४० वर्षीया दिपा चौधरीलाई १८ वर्षीय लोकेन्द्र साउँदले चलाएको से७ प६९८७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट चौधरीको टाउको र भित्री अंगमा गम्भीर चोट लागेको थियो । घाइते चौधरीलाई तत्काल टिकापुर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज, बाँके रिफर गरिएको थियो ।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार उपचारकै क्रममा बिहीवार दिउँसो चौधरीको मृत्यु भएको जनाएको छ ।

Loading...