अत्तरियाको सेभ हाउसले २ वर्ष अघि अलपत्र फेला परेका बालबालिकालाई आफन्तको जिम्मा लगायो

अत्तरिया : कैलालीको अत्तरियामा २ वर्ष अघि अलपत्र अवस्थामा भेटिएका २ बालबालिकालाई आफन्तको जिम्मा लगाइएको छ । २ वर्ष देखि महिला तथा बालबालिका सेभ हाउसको साहारामा बस्दै आएका बझाङको छबिस पाथीभरा गाउँपालिका-१ का ८ वर्षीय दिपु गिरी र ९ वर्षकी आइसा गिरीलाई आफन्तको जिम्मा लगाइएको हो ।

ती बालबालिका २०७९ चैत्र ४ गते साँझ अत्तरिया बसपार्क नजिकै अलपत्र अवस्थामा फेला परेका थिए । बालबालिकाले आमा सँगै आएको बताए पनि आमाबाट अलग भएपछि ती बालबालिका अलपत्र परेका थिए । बिहीबार बालबालिकालाई मामा घरकी हजुर आमा पारु गिरीको जिम्मा लगाइएको महिला तथा बालबालिका सेभ हाउसकी अध्यक्ष जानकी मलासीले बताइन् । उनले बालबालिकाको जन्म दर्ता पनि नभएकाले समस्या भएको अवस्थामा आफन्त सम्पर्कमा आएपछि सहज भएको बताइन् ।

बालबालिकाकी हजुर आमा पारु गिरीले आफ्नी छोरी पहिलो बिहे गरेको श्रीमानलाई छोडेर छबिस पाथीभरा गाउँपालिका-७ का रोकाया थरका पुरुष सँग बिहे गरेर गएको भए पनि सम्पर्कमा नभएको बताइन् । उनले बालबालिकालाई आफूले नै संरक्षण गरेर राख्ने बताइन् । उनका अनुसार उनकी छोरी (बालबालिकाकी आमा) सिता गिरीले छबिस पाथीभरा गाउँपालिका-२ का राजी गिरी सँग अन्दाजी १० वर्ष पहिले भागी विवाह गरेकी थिइन् । राजी गिरी हाल भारतमा बस्दै आएको उनले बताइन् ।

बालबालिकालाई इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी ज्ञानु चौधरी, पत्रकारको रोहबरमा महिला तथा बालबालिका सेभ हाउसकी अध्यक्ष मलासीले बालबालिकाकी हजुर आमा पारु गिरीको जिम्मा लगाएकी छन् । दुवै बालबालिका हाल अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माविमा पढ्दै आएका थिए ।

Loading...