गेटा अस्पतालमा सेवा प्रभावकारी बनाउन सङ्घर्ष समितिले गर्यो अस्पतालका निर्देशकसंग छलफल

अत्तरिया : सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समिति र गेटा अस्पतालका निर्देशक प्रमोद यादव बिच छलफल भएको छ । सोमबार गेटा अस्पतालको पछिल्लो अवस्था र सेवा प्रवाहमा भएको लापरबाहीका कारण जनताले भोग्नुपरेका समस्या सँगै ३ सय शय्याको अस्पताल र चिकित्सा शिक्षा अध्यापन गराउनका लागि आवश्यक नीति र बजेटको व्यवस्था गर्ने विषयमा छलफल गरिएको हो ।

छलफलमा गेटा अस्पतालले अझै सेवा चुस्त दुरुस्त दिन नसकेको, २४ घण्टा सेवा सञ्चालन गरिएको भनिए पनि प्रभावकारी हुन नसकेको, मनोमानी कर्मचारी नियुक्ति र हटाउने काम गरिएको लगायतका विषयमा सहभागीले गुनासो गरेका थिए ।

Dhangadhi_Tihar 2083

सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डेले ३ सय बेड भनेर अहिले पनि ५० बेडको मात्रै सञ्चालन रहनु विडम्बना भएको बताए । उनले सञ्चालनमा रहेको ५० बेडको अस्पतालमा पनि ओपिडी सेवा मात्रै सञ्चालनमा रहेको बताए । उनले ५० बेडका लागि डाक्टर, इक्युबमेन्ट हुँदा पनि डाक्टरहरू अस्पतालमा नबस्ने गरेका कारण बिरामीको चाप बढ्न नसकेको बताए । उनले गेटामा आगामी आर्थिक वर्ष देखि ३ सय शय्याको अस्पताल सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरी सञ्चालन गर्न अस्पताल प्रशासनले भूमिका खेल्नुपर्ने बताए । उनले आगामी शैक्षिक सत्र देखि नै चिकित्सा शिक्षा अध्यापन गराउने वातावरण बनाउन सबैले आआफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने बताए ।

सङ्घर्ष समितिका तर्फबाट बोल्दै डा. डम्बर बहादुर पालले यती ठुलो संरचना बनाउँदा पनि सेवा प्रवास चुस्त दुरुस्त हुन नसक्नु विडम्बना भएको बताए । उनले अस्पतालको सेवा सुविधा चुस्त दुरुस्त बनाएर चालु शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा पढाइको काम सुचारु गरिनुपर्ने बताए । यस्तै सङ्घर्ष समितिका तर्फबाट बोल्दै डा. नर बहादुर मौनीले ३० जना डाक्टर हुँदा पनि त्यो अनुसारको सेवा प्रभाव हुन नसकेको बताउँदै यस्तो हुनुको कारण पत्ता लगाउन आवश्यक रहेको बताए ।

सङ्घर्ष समितिका सचिव धर्म सिंह कुवरले सङ्घर्ष समितिले अस्पतालको अवस्था बुझ्नको लागि छलफलको आयोजना गरिएको बताए । उनले अस्पताल विश्वविद्यालयको जग भएकाले यसलाई सुदृढ बनाउन आवश्यक रहेकाले सङ्घर्ष समितिले निरन्तर दबाबका कार्यक्रम जारी राखेको बताए । सङ्घर्ष समितिका सदस्य विनोद विष्टले इमर्जेन्सी सेवा सञ्चालन नहुँदा गेटबाट बिरामी फर्किनुपर्ने अवस्था रहेको बताए । उनले अस्पतालका लागि मात्रै डेढ अर्ब खर्च भइसक्दा पनि अझै अस्पतालको सेवा प्रभावकारी हुन नसकेको बताए । उनले फार्मेसीमा औषधी नपाउने, नर्सहरूको व्यवहार राम्रो नभएको, क्यान्टिनमा पनि दररेट भन्दा बढी पैसा लिने गरिएको बताए । सङ्घर्ष समितिका सदस्य लोकेन्द्र धामीले मेडिकल सामान खरिद गर्नु पूर्व वायोमेडिकल इन्जिनियर परिवर्तन गरिनु, लेखा अधिकृत सरुवा गरिनुले भ्रष्टाचारको पनि गन्ध आएको बताए ।

छलफल कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक यादवले अहिले सम्म पुरानै निर्देशकले बनाएको योजना अनुसार अस्पताल सञ्चालनमा रहेको बताउँदै आगामी आर्थिक वर्षको साउन देखि आफूले बनाएका योजना अनुसारका क्रियाकलाप गरिने बताए । उनले साउन देखि स्वास्थ्य बिमा, मातृ शिशु कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए । उनले अहिले सम्म पनि अस्पतालको खाता नखुलेकाले आम्दानी गरेको रकम खर्च गर्ने सक्ने अवस्था नभएकाले त्यसका लागि पनि साउने देखि प्रक्रिया अगाडि बढाउने बताए । उनले साउन देखि ३ सय बेडको अस्पताल सञ्चालनका लागि अनुमति र दरबन्दी माग गरिएको बताए । उनले कर्मचारी सरुवा, हटाउने कुरा आफ्नो मातहतमा नभएको बताए । उनले बायोमेडिकल इन्जिनियर ज्यालादारीमा कार्यरत भएकाले सरकारले नै पुस देखि जारी गरेको सर्कुलर अनुसार हटाउनु परेको बताए ।

Loading...