कैलाली कारागार घटना : मृतक चौधरीको शव अस्पतालमा, परिवारको ‘न्याय’ र ‘शिक्षा’को माग

अत्तरिया : कैलाली कारागारमा गत शुक्रबार राति भएको हिंसात्मक झडपमा मारिएका धनगढी उपमहानगरपालिका–४ का ३७ वर्षीय भरत चौधरीको शव चार दिनदेखि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

लागुऔषध मुद्दामा ६ महिनादेखि कैद भुक्तान गरिरहेका चौधरीको कारागारको पुरुष ‘ए’ ब्लकका कैदीबन्दीहरूले भित्तामा प्वाल पारेर ‘बी’ ब्लकमा पुगेका र त्यहाँ रहेका चौधरीसहित ४९ जनामाथि सांघातिक आक्रमण गरेका थिए।

चिकित्सकहरूले अस्पतालमा पु¥याएलगत्तै चौधरीलाई मृत घोषित गरेका थिए। तर मृतकको परिवारले शव बुझ्न अस्वीकार गर्दै हत्यामा संलग्न कैदीबन्दीको पहिचान गरी कारबाही गर्नुपर्ने, साथै मृतककी १५ वर्षीया छोरीलाई सरकारले निःशुल्क शिक्षा दिनुपर्ने माग गरेका छन्।

मृतकका भाइ विजय चौधरीले भने, “हामीलाई पैसाभन्दा पनि न्याय चाहिएको हो। दाजुको हत्या गर्नेको पहिचान गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ, र टुहुरी भएकी छोरीको शिक्षा सरकारले निःशुल्क व्यवस्था गर्नुपर्छ।” यसअघि सुदूरपश्चिम प्रदेश सरकारले चौधरीका परिवारलाई राहतस्वरूप पाँच लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ।

सोमबार प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमालले पीडित परिवारसँग छलफल गर्दै धनगढी उपमहानगरपालिकाले मृतककी छोरीलाई पढाउने बचन दिइसकेको र अन्य संघसंस्थामार्फत थप सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

Loading...