गौरामा गाइने फाग संरक्षण गर्न प्रतियोगिता आयोजना

बैतडी : गौरामा गाइने फाग संरक्षणका लागि बैतडीमा प्रतियोगिता आयोजना गरिएको छ । जिल्लाको मेलौली नगरपालिका–२ स्थित गेरडा शिवधाममा गेरडा शिवधाम व्यवस्थापन समितिले शनिबार प्रतियोगिताको आयोजना गरिएको हो ।

सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरामा गाइने सगुन, फाग, अठ्यावाली लगायतका संस्कृतिहरु संरषणका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । आयोजक समितिका व्यवस्थापक विवेकानन्द पाण्डेयले गौराका संस्कृति संरक्षण र हस्तान्तरणका लागि प्रतियोगिताको आयोजना गरिएको बताए ।

उनले ‘लोक तथा स्थानीय संस्कृतिको ज्ञान, नयाँ पुस्तालाई अग्रजहरुको आह्वान’ भन्ने नारासहित प्रतियोगिताको आयोजना गरिएको बताए । मेलौली नगरपालिका वडा नं २ को सहयोगमा प्रतियोगिताको आयोजना गरिएको व्यवस्थापक पाण्डेयले बताए ।

स्थानीय संस्कृतिको संरक्षण र युवा पुस्तालाई सगुन, फाग सिकाउने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको मेलौली नगरपालिका – २ का अध्यक्ष कृष्णदत्त भट्टले बताए । ‘मौलिक संस्कृति जोगाउनु हामी सबैको कर्तव्य हो । त्यसैले हाम्रो संस्कृतिका बिषयमा नयाँ पुस्ता पनि जानकार हुनु आवश्यक छ’ उनले भने ।

प्रतियोगितामा सहभागी भएर सगुन, फाग गाउने ६ ओटै टोलीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

Loading...