कैलालीको गोदावरीका चार वडाले सुरु गरे सडकबाटै सेवा प्रवाह

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका चार वटा वडाले सडकबाटै सेवा प्रवाह सुरु गरेका छन् ।

वडा नम्बर ३, १०, ११ र १२ ले आजदेखि सडकबाटै सेवा प्रवाह गरेका हुन् । चौकीडाँडा-फल्टुडे सडक खण्ड निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको विरोधस्वरुप ४ वटै वडाका वडाध्यक्षहरुले आजदेखि संयुक्त रुपमा सोही सडकखण्डमा रहेको चाक्लेखोलामा वडाका कामकारबाहीहरु सडकबाटै सञ्चालन गरेका हुन् ।

उनीहरुले पटक पटक आवाज उठाउदा पनि ठेकेदारले लापरबाही गरेका कारण सडक निर्माणका लागि दवाव दिन सडकबाटै वडा कार्यालय सञ्चालन गरिएको बताएका छन् । ६ वर्षसम्म पनि सडक निर्माण नहुँदा ३, १०, ११ र १२ का बासिन्दाले सास्ती खेप्नु परेको भन्दै वडाध्यक्षहरू सामूहिक दबाव मुलक आन्दोलनमा उत्रिएका हुन् ।

उक्त सडकखण्ड निर्माणको ठेक्का पाएको एडभान्जर थिमिम जेमी र तेडी निमार्ण सेवाले सडक निर्माणमा गरेको ढिलासुस्ती विरुद्ध सडकबाट सेवा सुरु गरिएको वडा नम्बर १० का वडाअध्यक्ष रवीन्द्र शाहीले बताएका छन् । उनले सडक निर्माणमा भैरहेको लापरबाही रोक्न र सडक निर्माण गर्न पटकपटक पहलकदमी गरेपनि ठेकेदारले अटेरी गर्दा बाध्य भएर सडकमा उत्रिनुपरेको  बताए ।

Loading...