अत्तरिया : सुदूरपश्चिम प्रदेशमा आज (बुधबार) ‘बुढी पोल्ने’ पर्व मनाइँदै छ । हरेक वर्षको असोज १ गते सुदूरपश्चिमका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा ‘बुढी पोल्ने’ पर्व मनाइन्छ ।
भदौ १ गतेका दिन बिच बाटामा गाडिएको सल्ला, बाँझ, निगालो आदिका हाँगाबिँगा काटेर पूतना बुढी अर्थात् राक्षस पूतनाको प्रतीक बनाइएको हुन्छ । त्यो प्रतीकलाई असोज संक्रान्तिका साँझ गाउँका सबै मिलेर जलाउने गरिन्छ, जसलाई स्थानीय भाषामा बन्दुनी जलाउने भनिन्छ ।
बन्दुनी जलाउने ठाउँमा आ-आफ्नो बारीमा फलेका काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडले थु-थु गर्ने चलन छ। यसैगरी लुतो फाल्ने पनि गरिन्छ । यसै गरी बुढी पोलेर घर फर्किने क्रममा बाटो-बाटोमा बलेको दियालो पनि गाड्दै जाने प्रचलन छ ।
कंसद्वारा पठाइएकी राक्षस पूतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा यो पर्व मनाउने प्रचलन रहेको संस्कृतिका जानकार बताउँछन् । पहिलेपहिले यो दिन रातभर देउडा खेल्ने चलन रहे पनि अचेल त्यस्तो देखिँदैन।
