डोटीमा जिप दुर्घटना, आठ महिनाकी बालिकासहित चार जनाको मृत्यु, ५ घाइते

अत्तरिया : धनगढीबाट बाजुरा जाँदै गरेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

धनगढीबाट बाजुरा जाँदै गरेको जिप शनिवार राति २ः१८ मा केआई सिंह राजमार्ग अन्तर्गत डोटीको शिखर नगरपालिका वडा नम्बर–६ अण्यौलमा दुर्घटना भएको हो। २१ वर्षीय चालक महेश बुढाले चलाएको ग २ च २७७६ नम्बरको बोलेरो जिप सडकबाट अनियंत्रित भएर अन्दाजी ५०÷६० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटना परि बाजुराको हिमाली गाउँपालिका वडा नम्बर–५ कि २२ वर्षीया राधिका मलाल, सोही ठाउँकी ३२ वर्षीया धनशोभा बुढा, मृतक धनशोभाका ६ वर्षीय छोरा कविन्द्र बुढा र दुर्घटनामा परि गम्भीर घाइते भएकी विमला मलालकि अन्दाजी ८ महिनाकी छोरी प्रार्थना मलाल रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर हिमाली गाउँपालिका वडा नम्बर–५ का ३० वर्षीय प्रकाशबहादुर बुढा थापा, सोही ठाउँ बस्ने २३ वर्षीय खेमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा, २१ वर्षीय विमला मलाल र २१ वर्षीय राजबहादुर मलाल घाइते भएको प्रहरीले जनाएको छ।घाइतेमध्ये चार जनाको अवस्था मध्यम छ भने विमला मलालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटना भएको थाहा पाउने बित्तिकै प्रहरी सहायक निरीक्षक विपिन भण्डारीको कमान्डमा खटिएको ६ जनाको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरि उपचारका लागि शैलेश्वरी अस्पताल डोटीमा पठाएको छ भने चालकलाई नियन्त्रण लिइएको डोटी प्रहरीले जनाएको छ।

Loading...