संविधान दिवसको अवसरमा काँग्रेस-एमालेद्वारा कैलालीमा शक्ति प्रदर्शन

अत्तरिया : संविधान दिवसको अवसरमा नेपाली काँग्रेस र नेकपा एमालेले शक्ति प्रदर्शन गरेका छन् । शुक्रवार दुवै दलले अत्तरिया देखि धनगढी सम्म मोटरसाइकल र्‍याली निकालेर शक्ति प्रदर्शन गरेका हुन ।

अत्तरियाबाट सुरु भएको मोटरसाइकल र्‍याली धनगढीको सहिद गेटमा मिसिएको थियो । उक्त र्‍यालीले धनगढीमा परिक्रमा गरेर धनगढी चौराहामा कोण सभा गरेको थियो ।

कोण सभामा बोल्दै नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष यज्ञ राज ढुङ्गाना जेन जी आन्दोलनले आफूहरूलाई शिक्षा दिएको बताए । उनले पछिल्लो चरणमा जेनजी पुस्ताले उठाएका भ्रष्टाचार विरोधी अभियान, सुशासनका कुराहरू, विधिको शासनका कुराहरूमा शिरोधार्य गर्दै हामी अघि बढ्ने बताए ।  केही समय पहिले देखि संविधान संशोधन, प्रदेश संरचना, प्रतिनिधि सभा सङ्ख्याको विषयमा पनि कुरा उठेको बताउँदै विधिवत् ढङ्गले संविधान संशोधन गर्ने कुरामा पनि आफूहरू अगाडि बढ्ने बताए । उनले सार्वजनिक पदमा बसेका सबैको २०४६ यताको छानबिन गरिनुपर्छ भन्ने कुरामा आफूहरू पनि स्पष्ट रहेको बताए । उनले युवाका सपना पनि मर्न नदिने बताए ।

कोण सभामा बोल्दै काँग्रेस कैलालीका कार्यवाहक सभापति खेम राज थारु डगौराले मुलुक जर्जर अवस्थामा पुगेको अवस्थामा प्रजातान्त्रिक अभ्यासमा हुर्किएका दल एक ठाउँमा उभिन आवश्यक भएको बताए । उनले भाद्र २३ र २४ गते जेनजीको आन्दोलनमा भएको घुसपैठका कारण मुलुक समस्यामा परेको बताए । उनले आतङ्क सिर्जन गर्ने प्रति काँग्रेस एमालेले घोर भत्र्सना गरेको बताए ।

Loading...