अत्तरिया : कैलालीको गोदावरी नगरपालिका– ४ मा सम्पन्न जेवाइसी कप लोटस आई प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि सिवाईसी अत्तरियाले जितेको छ ।
मंगलबार सम्पन्न फाइनल खेलमा खानेपानी युवा क्लब (केवाईसी) लाई ९ विकेटले हराउँदै उपाधि जितेको हो । टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको केवाईसीले १८.१ ओभरमा अपआउट हुँदै ६३ रन मात्रै बनाउन सकेको थियो ।
जबाफी ब्याटिङमा सिवाईसीले ५.२ ओभरमा मात्र १ विकेटको क्षतिमा लक्ष्य भेटायो । जित सँगै सिवाईसी अत्तरियाले नगद ४० हजार सहित ट्रफि र प्रमाणपत्र हात पारेको छ । उपविजेतामा चित्त बुझाएको केवाईसीले नगद २० हजार सहित ट्रफि र प्रमाणपत्र पाएको थियो ।
प्रतियोगितामा वेस्ट बलर प्रतियोगिता अवधिभर १३ बिकेट लिएका ज्वालादेवी युवा क्लब (जेवाईसी) का टेक राज भट्ट, वेस्ट ब्याट्सम्यान १२३ रन बनाएका केवाईसीका विवेक खड्का र प्लेयर अफ द टुनामेन्ट सीवाईसीका नीरज भट्ट भएका थिए ।
प्रतियोगितामा विजेता, उपविजेता लगायत उत्कृष्ट खेलाडीलाई वडाध्यक्ष हेम प्रकाश मल्लको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका बिच पुरस्कार वितरण गरिएको थियो ।
असोज २२ गते देखि सुरु भएको प्रतियोगितामा ८ वटा टिमहरूको सहभागिता रहेको थियो । प्रतियोगिता लिग कम नकआउट चरणमा खेलाइएको थियो । आयोजक ज्वालादेवी युवा क्लब (जेवाईसी) का अध्यक्ष महेश भट्टले प्रतियोगितालाई टाइटल स्पोन्सर गरी अत्तरियाको लोटस आई माविले सहयोग गरेको बताए ।
उनले अन्य थुप्रै संघ संस्था, अस्पताल, व्यवसायी र व्यक्तिहरूले प्रतियोगिता सम्पन्न गर्नको लागि सहयोग गरेको बताए ।
