अत्तरिया : कैलालीको गोदावरी नगरपालिका आफ्नो क्षेत्रभित्रको जग्गा वर्गिकरण गर्ने कैलाली जिल्लामा पहिलो पालिका बनेको छ।
नगरपालिकाले भू–उपयोग ऐन तथा नियमावलीअनुसार आफ्नो क्षेत्रमा रहेका जग्गालाई विभिन्न क्षेत्रगत वर्गमा विभाजन गरी आवश्यक विवरण नापी कार्यालय र मालपोत कार्यालयमा बुझाएको छ। नगरपालिकाका अधिकारीका अनुसार, यस प्रक्रिया अन्तर्गत नापी गरिएको विवरण र मालपोतको डाटालाई भेरिफिकेशन गरी अत्यन्त छोटो समयमा, करिब १–२ दिनभित्र कित्ताकाट प्रक्रिया खुल्नेछ।
यसरी जग्गा वर्गिकरण भएपछि नगरपालिकाका बासिन्दा तथा लगानीकर्ताले जग्गा खरिद–बिक्री, पञ्जिकरण र कानुनी प्रक्रियामा सहजता पाउने अपेक्षा गरिएको छ। गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टका अनुसार, “जग्गा वर्गिकरण कार्य सम्पन्न हुनु हाम्रो नगरपालिकाको ठुलो उपलब्धि हो ।
उनले भने, यसले भू–उपयोगमा स्पष्टता ल्याएर विकास योजना, लगानी, तथा नागरिक सेवामा पारदर्शिता र सहजता ल्याउनेछ।” नगरपालिकाले जग्गा वर्गिकरणसँगै नागरिकलाई सुविधा पु¥याउने, कर संकलनलाई व्यवस्थित बनाउने तथा जग्गासम्बन्धी विवाद न्यूनीकरण गर्ने लक्ष्य राखेको छ।
