अत्तरिया : कैलालीको गोदावरी-१० खमौराका मृतक शेर बहादुर चौधरीका आफन्तले न्याय नपाएको गुनासो गरेका छन् । मध्यरातमा घरमै आएर मार्ने भन्दै ढोका तोड्न थालेपछि पछाडिको ढोकाबाट भागेपछि मृत फेला परेका शेर बहादुरका आफन्तले न्याय नपाएको गुनासो गरेका हुन् । असोज २३ गते राती २ बजे ढोकामा हान्दै मार्ने धम्की दिएकाहरूलाई कारबाही नगरी छोडिएको भन्दै आफन्तले सङ्घर्षका कार्यक्रम समेत घोषणा गरेका छन् ।
मृतककी भाइ बुहारी सलिना चौधरीले घटनामा प्रत्यक्ष संलग्न स्थानीय लोकेन्द्र मल्ल (लक्की) र उनका सहोदर भाइ डडेल्धुराको गन्यापधुराका विकास मल्ललाई कारबाही गर्नुको साटो छोड्ने काम गरिएको बताइन् । ‘२ जना घटनामा संलग्न थिए । अहिले एक जना (विकास मल्ल) लाई छोडिएको छ’ उनले भनिन् ‘किन एक जनालाई छोडियो । किन छोडियो भनेर पनि जानकारी दिइएन ।’ उनले एक जनालाई छुटाएको भन्दै अर्कोलाई पनि छुटाउन लागिपरेको बताइन् ।
‘किन छोडियो भनेर सोध्दा पनि जवाफ पाइरहेका छैनौ’ उनले भनिन् ‘पुलिस पनि घटना भएको दिन पछि दोस्रो पटक घटनास्थलमा पुगेको छैन । घटनाको अनुसन्धान नै भएको छैन । उल्टै अपराधीलाई छोडिरहेका छन् । हामी अन्यायमा परेका छौ ।’ उनले सबै कुटपिट गरेर हत्या गरिएको शवको फोटोहरू हुँदा पनि पोस्टमार्टममा पनि सामान्य मृत्यु भनेर उन्मुक्ति दिने काम गरिएको बताइन् । ‘टाउकोमा चोट छ । खुट्टा भाँचिएको छ । ढुङ्गा लागेको डाम छ । चिरपल्टले हानेको डाम छ’ उनले भनिन् ‘यी सबै हुँदा पनि कसरी नर्मल रिपोर्ट निकालियो ?’ उनले पोस्टमार्टममा पनि मिलेमतो भएको आरोप लगाइन् । उनले गरिब भएका कारण आफूहरूले न्याय नपाएको बताइन् ।
मृतकका काका लाल बहादुर चौधरीले सुरु देखि नै प्रहरीको भूमिका शङ्कास्पद रहेको बताए । उनले खोलाबाट शव उठाउँदा आफन्तलाई जानकारी नदिई चार किल्ला समेत प्रमाणीकरण नगरी शव उठाइएको बताए । उनले घटनामा प्रहरी प्रशासन र अदालतको मिलेमतो भएको बताए । उनले मंगलबार अदालतमा जाँदा मात्रै दोषीलाई छोडेको थाहा पाएको बताए । उनले पीडितले जसरी पनि न्याय पाउनु पर्ने बताएका छन् ।
बुधवार न्यायको लागि माग गर्दै गोदावरी नगरपालिका स्तरीय भलमन्साहरुको बैठक बसेर सङ्घर्ष समिति निर्माण गरिएको छ । सङ्घर्ष समितिले बिहीबार इलाका प्रहरी कार्यालय मालाखेती घेराउ गर्ने, शुक्रवार जिल्ला अदालत कैलाली घेराउ गर्ने र धर्ना दिने कार्यक्रम राखेकोे सङ्घर्ष समितिका बाबुराम चौधरीले बताए । उनले यी कार्यक्रम गर्दा पनि न्याय नपाए अत्तरियामा अनिश्चित चक्काजाम गर्ने निर्णय गरिएको बताए ।
वडा नम्बर १० का वडाध्यक्ष रवीन्द्र शाही (गुड्डु) ले पीडितलाई न्याय दिलाउनका लागि आफूले नियमित पहल गरे पनि सुनुवाइ नभएको बताए । ‘न्यायका लागि छानबिन कहाँ पुग्यो । के के भइरहेको छ भनेर हामी २/२ दिनको फरकमा चौकीमा आइरहेका छौ’ उनले भने ‘मृतकको शव भेटिएको ठाउँमा किटानी दिएकाहरूको मोबाइल नेटवर्क भेटिएको छ । मृतकको शरीरमा चोटपटक भेटिएको छ । खुट्टाको बोन नै टुटेको छ । तर, पोस्टमार्टम रिपोर्टमा भने केही देखाइएको छैन ।’ उनले न्याय दिने आश्वासन दिएर अन्तिममा आरोपित छोडिएको बताए । उनले जीवन भर दमनमा परेको चौधरी जातीलाई झन् पीडा दिने काम भइरहेको बताएका छन् ।
प्रहरीले असोज २३ गते राती २ बजे ढोकामा हान्दै मार्ने धम्की दिएका लोकेन्द्र र विकासलाई पक्राउ गरेको थियो । असोज २३ गते राती २ बजे ढोकामा हान्दै मार्ने धम्की दिएपछि पछाडिको ढोकाबाट भागेका शेर बहादुरको भने असोज २४ गते घर नजिककै खोलामा शव फेला परेको थियो । उनको शव घर नजिकै ओलानी र गोदावरी नदी मिल्ने दोभानमा फेला परेको थियो । त्यसपछि मृतकका आफन्तले घरको ढोकामा हान्दै मार्ने धम्की दिएका लक्की र विकासले नै शेरबहादुरलाई लखेटी लखेटी मारेको भन्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा किटानी जाहेरी दिएका थिए ।
