अत्तरिया : संसद पुनर्स्थापनाको माग गर्दै नेकपा एमाले गोदावरी नगर कमिटीले अत्तरिया बजारमा प्रदर्शन गरेको छ ।
एमाले गोदावरी नगर कमिटीले संसद विघटन असंवैधानिक भन्दै प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै देशव्यापी कार्यक्रम अन्तरगत आज (मंगलबार) अत्तरियामा र्यालीसहित प्रदर्शन गरेको हो ।
अत्तरियाको बनखेतमा रहेको एमालेको पार्टि कार्यालयबाट प्रदर्शनका क्रममा निकालिएको विरोध र्याली अत्तरिया बजार परिक्रमा गरी ट्राफिक प्रहरी कार्यालय अगाडि रहेको मदन आश्रित स्मृति प्रतीक्षालयमा कोणसभामा परिणत भएको थियो ।
एमालेले संसद विघटन असंवैधानिक भन्दै प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै आज देशभरका पालिकामा भेला र प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो । एमालेले संसद पुनर्स्थापना र महाधिवेशन केन्द्रित जनपरिचालन एवं जनसभा गर्न सबै पालिका कमिटीहरूलाई निर्देशन दिएको थियो ।
संसद विघटनविरुद्ध एमालेले देशैभर जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रदर्शनका कार्यक्रमहरू सार्वजनिक गरेको छ ।
गोदावरी नगर कमिटीले अत्तरियामा निकालेको विरोध र्यालीसहितको प्रदर्शनमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।