काठमाण्डौ : नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स खेल्दैछन् । खेल त्रिवि क्रिकेट मैदानमा बेलुकी ४ बजे हुनेछ ।
पोखरा आज पहिलो जितको खोजीमा हुनेछ भने सुदूरपश्चिम लगातार दोस्रो जितको योजना सहित मैदान प्रवेश गर्नेछ । प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो । पोखरा पहिलो खेलमा विराटनगरसँग पराजित भएको थियो भने सुदूरपश्चिमले काठमान्डुलाई हराउँदै विजयी शुरूवात गरेको थियो ।
पोखरा शीर्ष ४ मा पुग्ने अवसर कायम राख्न आजको खेल जित्नैपर्ने दबाबमा छ । सुदूरपश्चिमले पनि शीर्ष ४ भित्रको स्थान सुरक्षित राख्ने योजना बनाएको छ । अघिल्लो संस्करणको उपविजेता सुदूरपश्चिम उच्च मनोबलसहित मैदान उत्रदा पोखरा यसअघिको अनुभवबाट केही सुधार गर्ने लक्ष्यमा छ ।
पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐेरीले गर्ने छन् । पोखराको टोलीमा घरेलु तथा विदेशी खेलाडीहरूको प्रभावकारी मिश्रण छ। आकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपिन खत्री र विकेटकिपर एडम रोसिङ्टन आजको खेलमा पोखराका मुख्य आधार मानिएका छन् ।
सुदूरपश्चिमको टोलीमा विकेटकिपर विनोद भण्डारी, चर्चित खेलाडी क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेल्जिन आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी र बलर अविनाश बोहरा समावेश छन् ।
