धनगढी घटनाबारे माफी माग्दै, जेन्जी युवाहरूसँग संयमता अपनाउन राष्ट्रिय युवा संघले गर्यो आग्रह

धनगढी :  धनगढीमा बुधबार प्रदेश युवा जागरण अभियानका दौरान उत्पन्न विवादबारे राष्ट्रिय युवा संघ सुदूरपश्चिमले माफी माग्दै जेन्जी युवाहरूसँग संयमता अपनाउन आग्रह गरेको छ।

बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा संघका केन्द्रीय उपाध्यक्ष विनय शाहले घटनाप्रति आत्मालोचना गर्दै नयाँ पुस्तासंग क्षमा मागेका हुन्। शाहका अनुसार महेश बस्नेत लगायतका नेतामाथि केन्द्रित गरेर गरिएको प्रदर्शनकै क्रममा जेन्जी युवा र राष्ट्रिय युवा संघका कार्यकर्ताबीच विवाद र हाताहातको स्थिति बनेको थियो।

उनले युवाहरूलाई भावनामा नबहिकन राजनीतिको मार्ग रोजेर भ्रष्टाचारजस्ता समस्याको समाधान खोज्न सुझाव दिए। उनले भने, ’बुधबारको घटनामा नयाँ युवाहरूले भोग्नु परेको क्षतिप्रति माफी चाहन्छु। तपाईँहरू मेरा भाइ–बहिनी हौँ, राजनीतिमा आउनुहोस्, हामी साथ दिन्छौँ।

सबै मिलेर भ्रष्टाचार समाप्त गरौँ।’ घटनाको क्रममा आफैँ लडेर एक जना जेन्जीको हातमा चोट लागे पनि युवा संघले कुटपिट गरेको भनेर हल्ला फैलाइएको दाबी गर्दै शाहले तयारीसहितको कार्यक्रममा बाधा पु¥याउन नआउन आग्रह गरे। संघभित्रकै नेताहरू भ्रष्टाचारमुक्त नभएको स्वीकार्दै उनले आफूले पटक–पटक त्यसको विरोध गर्दै आएको बताए।

प्रदेश सरकारले स्थानीय होटेलमा बसेर प्रदेशका योजना १० प्रतिशत कमिसनमा बिक्री हुने चलनविरुद्ध आफूहरूले आवाज उठाएको उल्लेख गर्दै शाहले जेन्जी युवालाई ’भ्रष्टाचारमुक्त देश बनाउन सबै मिलेर अघि बढ्न’ आह्वान गरे।

उनले जेन्जी आन्दोलनलाई बाहिरी शक्तिले प्रभावित बनाएको दाबी गर्दै, आन्दोलनपछि बनेको सरकारले समेत जेनजी युवाको पक्षमा काम नगरेको आरोप लगाए।

Deep Jyoti Pustak psl
Loading...