अत्तरिया : कैलालीमा १६ वर्षदेखि फरार सवारी ज्यान मुद्दाका प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका-१० ओलानी बस्ने ४० वर्षीय राम लाल चौधरी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रण बहादुर चन्दले बताए ।
चौधरीले चलाएको से १ त २९८९ नम्बरको ट्याक्टर ६ कार्त्तिक २०६६ मा दुर्घटना हुँदा एकको मृत्यु र चार जना घाइते भएका थिए । चौधरी सोही दिनदेखि फरार थिए ।
उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको डिएसपी चन्दले बताए । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको छ । पछिल्लो समय फरार प्रतिवादीको खोजी कार्यलाई तीव्रता दिइएको डिएसपी चन्दले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालयले थालेको सर्च एण्ड स्वीप अभियान अन्तरगत नै उक्त काम अघि बढाइएको उनी बताउँछन् । अघिल्लो हप्ता मालाखेती प्रहरीले एकैदिन २२ फरार प्रतिवादी पक्राउ गरेको थियो ।
