अत्तरिया : एमालेको एघारौं महाधिवेशनका लागि कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि छनोटका निर्वाचन सम्पन्न भएको छ । सर्वसम्मत रुपमा सहमति नजुटेपछि आज दिउँसो १२ बजेबाट ६ः४० बजे सम्म निर्वाचन भएको थियो ।
६ जना महाधिवेशन प्रतिनिधिका लागि १२ जनाले उम्मेदवारी दिएका थिए । बनखेत स्थित एमाले गोदावरी नगरकमिटीको पार्टि कार्यालयमा भएको मतदान केन्द्रमा ८ सय ८२ मत खसेको निर्वाचन कमिटि संयोजक नरेन्द्र राज शर्माले बताएका छन् । उनका अनुसार आज राती नै मत गणना हुने भएको छ ।
प्रतिनिधि छनोटमा खुल्लाबाट नरबहादुर तामाङ, भिम बहादुर देउवा, चक्र बहादुर बोहरा, राम बहादुर श्रेष्ठ, आन्नद प्रसाद भट्ट र टिकाराम आचार्य उम्मेदवार बनेका छन् भने महिलाबाट रत्ना कुँवर जोशी, शान्ति देवी सिंह, गंगा कुमारी चौधरी र ईश्वरी देवी आचार्य उम्मेदवार बनेका छन् । यस्तै युवाबाट यज्ञराज कापडी र सुद्धिराम चौधरी उम्मेदवार छन् । महाधिवेशन प्रतिनिधिका लागि खुल्लाबाट ३, महिलाबाट २ र युवाबाट १ जना गरि ६ जना छनोट हुने निर्वाचन कमिटि संयोजक शर्माले जानकारी दिए । ३ हजार १ सय ३९ जना मतदाता रहेका छन् ।
कैलाली क्षेत्र नम्बर ४ गोदावरी नगरपालिका, गौरिगंगा नगरपालिका र चुरे गाउँपालिका गरि ३ पालिकामा रहेका एमालेमा आवद्ध संगठित सदस्य र सदस्यता नविकरण गरेका निर्वाचन कमिटिले सार्वजनिक गरेको नामावलीमा नाम रहेकाले मतदान गर्न पाउनेछन् । दिउँसो १२ः३० बजेदेखि सुरु भएको निर्वाचन बेलुका ५ः३० बजेसम्म समय निर्धारण गरिएको थियो तर मतदाताहरु मतदान केन्द्रमा उपस्थित भईसकेपछी केही समय ढिलासम्म मतदान भएको निर्वाचन कमिटिले जनाएको छ ।
एघारौं महाधिवेशनका लागि नेकपा एमालेले आज देशैभरी प्रतिनिधि छनोट गरेको छ ।