दुई वर्षमा धनगढीको निःशुल्क शव चिस्यान सेवाबाट ५५६ परिवार लाभान्वित

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले नगरवासीलाई निःशुल्क रुपमा शव चिस्यान (फ्रिजिङ)सेवा उपलब्ध गराउँदै आएको छ ।

यो उपमहानगरपालिकाले विगत दुई वर्षको अवधिमा हालसम्म ५ सय ५६ परिवारलाई निःशुल्क शव चिस्यान (फ्रिजिङ) सेवा उपलब्ध गराएको छ । २०८० मंसिर ११ गतेदेखि सुरु भएको यो अभियानमार्फत उपमहानगरले बिहीबारसम्म ५ सय ५६ वटा शव सुरक्षित राख्न शव चिस्यान मेसिनको सहयोग पु¥याएको जनाएको छ।

घरमा कसैको मृत्यु हुँदा विदेश वा टाढा रहेका परिवारजन तथा इस्टमित्र अन्तिम संस्कारका लागि आइपुगुन्जेल शवलाई सुरक्षित राख्न उपमहानगरले यो सुविधा निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ । धनगढी उपमहानगरपालिका नगर प्रमुख गोपाल हमालले विदेशमा रहेका सन्तानले आफ्ना अभिभावकको अन्तिम पटक अनुहार हेर्न पाउन् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको बताए ।

‘आमा बुबालाई सुख दिन्छु भनेर विदेश गएका छोरा छोरीले बुबाआमाको अनुहार पनि हेर्न पाउँदैनन् । मृत्युलाई टार्न नसकेपनि अन्तिम पटक भएपनि अनुहार हेर्न पाउन् भनेर निःशुल्क सेवा सुरु गरेका हौँ,’ उनले भने । मृतकका आफन्तले काम विशेषले घरबाहिर भएका सदस्य नआउन्जेलसम्म शवलाई सुरक्षित राख्न निःशुल्करुपमा शव चिस्यान सेवाको उपयोग गर्दै आएका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलवारी, ५३ नम्बर टोलका जंग चौधरीको मृत्यु भएपछि उनका आफन्तहरू कामविशेषले घरबाट टाढा रहेकोले नगर प्रहरीले घरमै चिस्यान उपकरण उपलब्ध गराएको थियो । आफन्तजन दुई दिनपछि आएपछि मृतकको दाहसंस्कार गरियो ।

उपमहानगरको शव चिस्यान उपकरणले जंगको शव घरमै सुरक्षित राख्न धेरै सहज भएको स्थानीयले बताएका छन्। उपमहानगरपालिकाले सञ्चालन गरेको शव चिस्यान केन्द्रका कारण मृतकका आफन्तहरूलाई निकै सहज भएको धनगढी ६ का बिष्णुदत्त खड्काले बताए ।

उपमहानगरपालिकाले सञ्चालन गरेको शव चिस्यान केन्द्रको सेवा लिनेहरूको संख्या बढ्दै गएको जनाएको छ। त्यस्तै, धनगढी उपमहानगरपालिकाले विपन्न परिवारलाई आफन्तको निधन हुँदा अन्तिम संस्कारका लागि नगद पाँच हजार रुपैयाँसमेत दिने गरेको छ ।

Deep Jyoti Pustak psl
Loading...