अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइने भएको छ । गोदावरीमा नगर स्तरीय अपाङ्ग कार्य सञ्जालको आयोजनमा २ दिन विविध कार्यक्रम गरी दिवस मनाइन लागिएको हो ।

सोमबार सञ्जालले पत्रकार सम्मेलनको आयोजना गरी मंसिर १६ र १७ गते अपाङ्गता दिवसको अवसरमा गरिने कार्यक्रम सार्वजनिक गरेको छ । जसअन्तर्गत मंसिर १६ गते अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको पुर्वसन्ध्यामा २ सय मिटर ह्विलचियर दौड, हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्वकला, र दीप प्रज्वलन कार्यक्रम गरिने नगर स्तरीय अपाङ्ग कार्य सञ्जालका अध्यक्ष लक्ष्मण विकले बताए । उनले ह्विलचियर दौड, हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता सुप समावेशी स्कुलमा आयोजना गरिने र दीप प्रज्वलन अत्तरिया चोकमा गरिने बताए ।
उनले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको दिन मंसिर १७ गते प्रभात फेरी, अत्तरिया बसपार्कमा सरसफाइ गरेर सुप समावेशी विद्यालयमा औपचारिक कार्यक्रम गरिने बताए । औपचारिक कार्यक्रम अन्तरगत नृत्य, सम्मान तथा पुरस्कार वितरण लगायतका कार्यक्रम गरिने जनाइएको छ ।