धनगढी : नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ५ कैलालीले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । पूर्वपरराष्ट्रमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य आरजु राणा देउवासहित चार जनाको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ ।
आरजुसहित पार्टीका प्रदेश महामन्त्री नरनारायण शाह ‘मनु’, २०७९ सालको निर्वाचन सोही क्षेत्रबाट जितेका डिल्लीराज पन्त र धनगढीका पूर्वमेयर नृपबहादुर वडको नाम जिल्ला कमिटीलाई सिफारिस गरिएको क्षेत्रीय समितिका प्रवक्ता प्रदीप पाठकले जानकारी दिए ।
नाम सिफारिस गर्न क्षेत्र नम्बर ५ ले मंगलबार बिहान १० बजेदेखि २ बजेसम्म इच्छुक उम्मेदवारलाई नाम दर्ता गर्न आह्वान गरेको थियो । चार जनाको नाम मात्रै दर्ता भएपछि सबैको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ ।
क्षेत्रीय समितिले एक नम्बरमा डाक्टर आर्जु राणा देउवा, दोस्रो नम्बरमा नरनारायण शाह तेस्रो नम्बरमा डिल्लीराज पन्त र चौथो नम्बरमा नृपबहादुर वडलाई उम्मेदवारका लागि सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ ।
आरजु राणा २०७४ सालको निर्वाचनमा धनगढी क्षेत्रबाट एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन्। २०७९ सालमा पनि उनी त्यही क्षेत्रबाट प्रतिस्पर्धा गर्ने चर्चा चलेपनि उनले समानुपातिक निर्वाचन प्रणाली रोजेकी थिइन्।
यससँगै समानुपातिकका लागि ११ जना र राष्ट्रियसभा सदस्यका लागि ३ जनाको नाम पनि सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ।