कैलालीमा फेरि देखियो अत्यन्त विषालु बाघे सर्प

धनगढी : अत्यन्त विषालु रसेल भाइपर (बाघे) सर्प कैलाली जिल्लामा फेरि फेला परेको छ।

टीकापुर नगरपालिका–७ स्थित बैदी क्षेत्रमा सोमबार स्थानीय गङ्गाराम जैसीको घर नजिकको बारीमा रसेल भाइपर देखिएको हो। संरक्षणकर्मी भोजराज ढुङ्गानाका अनुसार यो वर्ष मात्रै बैदी क्षेत्रमा चार वटा रसेल भाइपर भेटिइसकेका छन्। यसअघि तीन वटा सर्प फेला परिसकेका थिए।

चिसो मौसममा पनि यस प्रकारको अत्यन्त विषालु सर्प देखिनु चिन्ताको विषय भएको उनले बताए। “चिसो मौसम भए पनि रसेल भाइपर यहाँ देखिन थालेकाले स्थानीयहरू विशेष सतर्क रहन आवश्यक छ,” उनले भने।

ढुङ्गानाका अनुसार बैदीस्थित भ्यु टावरदेखि माथिल्लो क्षेत्रमा यो प्रजातिको सर्प बढी फेला परिरहेको छ। स्थानीयको घर नजिक बारीमा देखिएको सर्प उद्धारकर्ता विजय लुहारले सुरक्षित रूपमा उद्धार गरी बस्तीभन्दा टाढा सुरक्षित स्थानमा छोडेका छन्। यसअघि कात्तिक महिनामा धान काट्ने मेसिनमा च्यापिएर मरेको अवस्थामा पनि बैदी क्षेत्रमा रसेल भाइपर भेटिएको थियो।

सर्प संरक्षण तथा उद्धारमा सक्रिय टीकापुरका लक्ष्मण उपाध्यायले कैलालीमा रसेल भाइपर नियमित रूपमा भेटिन थालेको जानकारी दिए। उनका अनुसार यो सर्पले टोकेमा छिट्टै ज्यान जाने सम्भावना बढी हुन्छ।

“भारतले पनि रसेल भाइपरलाई चार प्रमुख विषालु सर्पको समूहमा राखेको छ,” उनले भने। उपाध्यायका अनुसार रसेल भाइपर प्रायः सडेगलेको काठ, झाडी, बाँसको झाडी तथा ओसिलो स्थानमा बसोबास गर्ने गर्दछ। स्थानीयवासीलाई यस्ता स्थानमा हिँडडुल गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

Deep Jyoti Pustak psl
Loading...