अत्तरिया : कैलालीको अत्तरियामा सञ्चालन भईरहेको सृजनशील गोदावरी साँस्कृतिक महोत्सवमा आज आइतबार र्यापर जी बब सँगै चर्चित गायक हिमाल सागर, गायिका भूमिका गिरी, डान्सर लक्ष्मी साउद, गायक नरेन्द्र राज जोशी सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
र्यापर जी बब शनिवार आउने भनिए पनि प्रतिकुल मौसमका कारण फ्लाइट ल्यान्डिङ हुन नसक्दा प्रस्तुति स्थगित भएको थियो । उनको प्रस्तुति पनि आजै रहने आयोजकले जनाएको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहनुकासाथै कला सँस्कृति झल्किने सामग्रीहरु सहित बिभिन्न डान्स क्लबहरुको नृत्य पनि प्रस्तुत भईरहेको आयोजकले जनाईएको छ ।
पौष ९ गतेदेखी सुरु भएको महोत्सव पौष १९ गते सम्म सञ्चालन हुनेछ । महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहदै आएको छ । महोत्सवमा १८० स्टल रहेका छन् । अत्तरियाको पूर्वरोडस्थित खुल्ला चौरमा लाग्ने महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १ सय रुपैयाँ टिकट दर तोकिएको छ भने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई प्रवेश निःशुल्क गरिएको छ ।
महोत्सवमा डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको आयोजकले जनाएको छ । जसमा एक करोड कारोबार हुने अपेक्षा लिइएको छ । महोत्सवमा कृषि र घरेलु उत्पादनका कार्यक्रमलाई मुख्य प्राथमिकता दिइएको न्यु सृजनशिल युवा क्लबका अध्यक्ष नर बहादुर राईले बताएका छन् ।