अत्तरिया : कैलालीको अत्तरियामा जारी सृजनशील गोदावरी साँस्कृतिक महोत्सवको बाह्रौं दिन आज (आईतबार) पनि राष्ट्रिय तथा स्थानीय चर्चित कलाकारहरूको प्रस्तुति रहने भएको छ । महोत्सवमा आज चर्चित गायक अर्जुन सापकोटा, गायिका एलिना चौहान, शोभा त्रिपाठी, गायक सुरेश चोखाल, मोडल मनिषा सिंह लगायतका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
महोत्सवको एघारौं दिन शनिबार लोकप्रिय गायक पशुपति शर्मा, गायिका शान्ति श्री परियार, देउडा गायक ध्वज महरा, टेक विसि, मोडल दुर्गा भट्ट लगायत स्थानीय कलाकारहरुले प्रस्तुती राखेका थिए । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहनुकासाथै कला सँस्कृति झल्किने सामग्रीहरु सहित बिभिन्न डान्स क्लबहरुको नृत्य पनि प्रस्तुत भईरहेको आयोजकले जनाईएको छ ।
महोत्सवमा स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, थारु गाउँ प्रदर्शनी, स्थानीय उत्पादनको प्रदर्शनी तथा मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिएका छन् ।
पौष ९ गतेदेखी सुरु भएको महोत्सव पौष २१ गते सम्म सञ्चालन हुनेछ । महोत्सवमा १८० स्टल रहेका छन् । अत्तरियाको पूर्वरोडस्थित खुल्ला चौरमा लाग्ने महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १ सय रुपैयाँ टिकट दर तोकिएको छ भने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई प्रवेश निःशुल्क गरिएको छ ।
महोत्सवमा कृषि र घरेलु उत्पादनका कार्यक्रमलाई मुख्य प्राथमिकता दिइएको न्यु सृजनशिल युवा क्लबका अध्यक्ष नर बहादुर राईले बताएका छन् ।