गोदावरी-१ को वडा कार्यालयमा लगाईएको ताला आज एघारौं दिनमा खुल्यो

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ को वडा कार्यालयमा लगाईएको ताला आज एघारौं दिन पछि खोलिएको छ । इलाका प्रहरी कार्यालय मालाखेती तथा नगर प्रहरीको सहयोगमा आज बिहान ताला खोलिएको हो ।

दुग्ध बिकास संस्थान (डीडीसी) अत्तरियाबाट धनगढी सार्ने प्रक्रिया अघि बढेपछि स्थानीयस्तरमा चर्किएको विरोधका कारण पुस १४ गते संघर्ष समिति र स्थानीयवासीले डीडीसी कार्यालयसँगै वडा नम्बर १ को कार्यालयमा तालाबन्दी गरेका थिए ।

लामो समयदेखि डीडीसी अत्तरियाबाट अन्यत्र सार्न नहुने मागसहित आन्दोलनरत संघर्ष समितिले भने ताला एकतर्फी रूपमा खोलिएको दाबी गरेको छ । समितिका अनुसार सरोकारवालासँग पर्याप्त छलफल र सहमति बिना प्रशासनिक बलको प्रयोग गरी तालाबन्दी खोलिनु आपत्तिजनक हो ।

उता, प्रशासनले भने सार्वजनिक सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले सुरक्षा निकायको सहयोगमा ताला खोलिएको बताएको छ । तालाबन्दी खुलेसँगै वडा कार्यालयको नियमित सेवा पुनः सुरु हुने अपेक्षा गरिएको छ । यद्यपि, डीडीसी स्थानान्तरण सम्बन्धी विवाद समाधानका लागि वार्ता र सहमतिमा पुग्नुपर्ने आवाज स्थानीय तहमा अझै बलियो देखिएको छ ।

Loading...