कैलाली : कैलाली, कञ्चनपुरलगायतका जिल्लाका थारू बस्तीमा माघी पर्वको चहलपहल सुरू भएको छ । विशेषगरी पुसको अन्तिम दिनदेखि सुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघीपर्वमा पुसलाई बिदाइ गरी माघ १ गते अर्थात् नयाँ वर्षलाई स्वागत गर्दै थारू गाउँ बस्तीमा यो पर्व सुरु भएको थारु कल्याणकारी सभाका केन्द्रीय उपाध्यक्ष प्रभातकुमार चौधरीले जानकारी दिए ।
थारू गाउँमा मासुका लागि जिता मार्ने (बङ्गुर काट्ने) क्रियाकलाप सुरु भइसकेको उनले बताए । त्यस्तै राति थारू जातिको संस्कृतिअनुसार नाचगान गरी रातभर जाग्राम बस्ने, भगवान्का नाममा ध्वनि जगाएर (धमार) भजनर्कीतन गर्ने, आगो ताप्ने, गञ्जी, तरुलजस्ता विभिन्न परिकार बनाएर खाने चलन रहेको उनले बताए ।
“माघेसङक्रान्तिका दिन विशेषगरी थारू समुदायमा बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाई गर्ने र नुहाउने बेला नदीमा डुबुल्की लगाएर सिक्का पैसा छाड्ने गरिन्छ । नुहाइसकेपछि धमार गाउँदै घरमा आएपछि घरका महिलाले छुट्यादिएको चामल र मासको दाललाई छुने र ती छोएका चिज घरका छोरीबेटीलाई छुट्याउने प्रचलन छ”, उनले भने, “त्यसपछि घरमा भएका पूर्खा तथा आफूभन्दा ठूलाबडाबाट आर्शीवाद लिने परम्परा रहिआएको छ।”

तेस्रो दिन अर्थात् माघ २ गते चामल र मासको दालको खिचडी खाने, नजिकैका बजारमा जाने परम्परा पनि रहेको उनले बताए। गोदावरी नगरपालिका-८ फकलपुरका स्थानीय माधव चौधरीका अनुसार थारू समुदायको मुख्य पर्व भएकाले यतिबेला थारू बस्तीमा पर्वको रौनक छाएको छ ।
थारू समुदाय बसोबास गर्ने गाउँबस्ती अहिले माघीमय भएका छन् । यतिमात्र नभएर थारू जातिको परम्परा, लोकसंस्कृति झल्कने मघौटा नाच, लोकगीतसँगै डफ र मादलको आवाज पनि गाउँघरमा गुञ्जिन लागेको छ ।
यो पर्वमा थारू समुदायले विगतको गतिविधिको समीक्षा गर्छन् । “माघी पर्वसँगै थारू समुदायमा विधिवत रूपमा विवाह, अंशवण्डालगायत कार्यको थालनी हुन्छ”, चौधरीले भने, “यस दिन आपसी वैमनश्यलाई त्यागेर आफन्त, इष्टमित्रलाई भेटघाट गरी अण्डी चामलको भातरोटी, ढिक्री, मासुलगायत थारू खानाका विभिन्न परिकार खाने र खुवाउने चलन छ ।”
जिता पर्वका लागि आज सुदूरपश्चिममा सार्वजनिक बिदा दिइएको प्रदेश सरकारको राजपत्रमा उल्लेख छ । थारु समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउने चलन छ । पुसको अन्तिम दिनदेखि माघ १ र २ गतेसम्म विशेष कार्यक्रमसहित पर्व मनाइन्छ । माघ १ गतेलाई राष्ट्रिय पर्वका रूपमा सार्वजनिक बिदा दिइँदै आएको छ भने त्यसपछिका दिनहरूमा स्थानीय तहबाट पनि बिदा दिने प्रचलन रहँदै आएको छ ।