आज माघे संक्रान्ति पर्व मनाइँदै, थारु समुदायमा माघीको रौनक

कैलालीको गोदावरीमा स्नान गर्नेको घुइँचो

अत्तरिया : आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति । घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ । आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ ।

माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले आ-आफ्नै ढङ्गले हर्षोल्लासपूर्वक मनाउने गर्दछन् । विशेष गरी थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउँछन् । यस्तै घ्यू, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी, ढिक्री र खिचडीजस्ता परिकारहरू खाई परिवारसँग रमाइलो गर्ने प्रचलन रहिआएको छ ।

यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेद चिकित्सकको भनाइ छ ।

कैलालीको गोदावरी धाममा स्नान गर्नेको बिहानैदेखि घुइँचो

माघे संक्रान्तिको अवसरमा आज कैलालीको गोदावरी धाममा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ । माघे संक्रान्तिका अवसरमा गोदावरी धाममा स्नान गर्ने भक्तजनको घुइँचो लाग्ने गर्दछ । जसका लागि गोदावरी धाममा स्नान कुण्ड निर्माण गरिएको छ भने वरपर सजाउने काम पनि गरिएको छ ।

Dhangadhi_Tihar 2083

गोदावरीको प्राचीन शिव मन्दिरका महन्त तुल्छि गिरीले परम्परा देखि चल्दै आएको माघे संक्रान्ति मेला यस पर्व पनि सञ्चालन भइरहेको बताए । उनले माघे संक्रान्तिका अवसरमा गङ्गा आरती, कृतन भजन, झाकी लगायतका क्रियाकलाप हुने बताए । माघे संक्रान्तिका अवसरमा स्नान गर्नेहरूको सहजताका लागि गोदावरी नगरपालिकाको डोजरले स्नान कुण्ड निर्माण गरेको छ । मेलाका लागि गोदावरी धाममा सरसफाइ गरेर झकिझकाउ बनाइएको छ । माघे संक्रान्तिदेखी श्री पञ्चमी सम्म तीन दिन विविध कार्यक्रम गरिने महन्त गिरीले बताए ।

गोदावरीमा विगत १० वर्ष देखि गोदावरी धाम विकास समितिले पनि मकर मेला आयोजना गर्दै आएको छ । २०७२ सालमा महाकुम्भ मेला आयोजना गरेको समितिले ६ वर्षमा अर्ध कुम्भ मेला र प्रत्येक वर्ष बाह्र राशि दर्शन मकर मेला आयोजना गर्दै आएको छ । यस वर्षको बाह्र राशि दर्शन मकर मेलाको पनि बुधवार (पुस ३० गते) उद्घाटन गरिएको छ ।

यस्तै माघे संक्रान्ति मेलामा जाने श्रद्धालु भक्तजनहरूको सहजताका लागि गोदावरी नगरपालिकाले निःशुल्क बसको व्यवस्था गरेको हो । माघ १ गते निःशुल्क ४ वटा बसको व्यवस्था गरिएको गरिएको नगरप्रमुख वीरेन्द्र भट्टले बताए । बस सेवा अत्तरिया चोक देखि गोदावरी धाम सम्म सञ्चालन गरिएको छ ।

थारु समुदायमा माघीको रौनक

यस्तै उता थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धूमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठुलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ ।

बेलुका घरमा ठुला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरूले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्नेहरू चार धाम जाने र नसक्नेहरूले नजिकको तीर्थमा गई गच्छेअनुसार दीन दुःखीलाई दान गर्ने चलन छ।

Loading...