कैलाली क्षेत्र नं. ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

अत्तरिया : कैलाली क्षेत्र नम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । गोदावरी नगरपालिका वडा नम्बर १ स्थित कृषि तथा पुशपन्छी सेवा केन्द्र अत्तरियामा आज (शुक्रबार) निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

निर्वाचन अधिकृत हरि प्रसाद आचार्यले निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरेका हुन् । कार्यालय स्थापना पश्चात बोल्दै सहायक निर्वाचन अधिकृत गिरीराज भण्डारीले कैलाली निर्वाचन क्षेत्र नं. ४ मा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको बताए । उनले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी सम्पुर्ण कार्यहरुहरुका लागि कार्यालय स्थापना भएको बताए ।

उनले उक्त कार्यालयबाट गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका र चुरे गाउँपालिकाका सबै वडा तथा मोहन्याल गाउँपालिका को वडा नं. ५ का सम्पुर्ण मतदान स्थल, मतदान केन्द्र तथा निर्वाचनका सम्पुर्ण कामकारबाहीहरु हुने बताए । उक्त कार्यालयबाट उम्मेदवारहरुको मनोनयन दर्ता, मतपत्रहरु वितरण गर्ने, मतदान केन्द्र तथा स्थलहरुमा कर्मचारी खटनपटन गर्ने, मतदान सञ्चालन गरेर मतमेटीका संकलन गरी मत गणना पछि नतिजा घोषणा गर्ने लगायतका कामहरु हुने सहायक निर्वाचन अधिकृत भण्डारीले जानकारी दिएका छन् ।

सहायक निर्वाचन अधिकृत भण्डारीका अनुसार कैलाली क्षेत्र नं. ४ मा १ लाख १५ हजार १४३ मतदाता रहेका छन् । यस्तै सो निर्वाचन क्षेत्रमा ५७ मतदान स्थल रहेको छ भने १३६ मतदान केन्द्र रहेको छ ।

कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत धर्मराज विनाडी, निमित्त सुदूरपश्चिम प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्ट, निर्वाचन आयोगका कर्मचारी लगायत सुरक्षा निकायका प्रमुखहरूको उपस्तिथि रहेको थियो । कैलाली लगायत प्रदेशभरीका सबै निर्वाचन क्षेत्रमा आज नै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने बताईएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि माघ ६ गते उमेदवारी मनोनयन हुँदैछ । निर्वाचन आयोगले आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यतालिका रहेको थियो ।

निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेसँगै विस्तृत निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रमअनुसार माघ ६ गतेदेखि विभिन्न चरणमा निर्वाचनसम्बन्धी काम कारबाही अघि बढाइने भएको छ । आयोगका अनुसार माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता सुरु हुनेछ । सोही दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गरिने कार्यक्रम रहेको छ । उम्मेदवारी दर्तापछि माघ ६ गते नै उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने छ ।

कार्यक्रमअनुसार माघ ७ गते उम्मेदवारीमाथि दाबी-विरोध दर्ता गर्ने समय तोकिएको छ भने माघ ८ गते दाबी-विरोधउपर जाँचबुझ गरी निर्णय गरिनेछ । माघ ९ गते उम्मेदवारको नामावली संशोधनसहित प्रकाशन गरिने आयोगले जनाएको छ । यस्तै माघ १० गते उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । उम्मेदवारी फिर्तापछि सोही दिन अन्तिम नामावली प्रकाशन गरिनेछ । माघ ११ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ ।

आयोगका अनुसार फागुन २१ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । मतदान शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबै तयारी तीव्र पारिएको आयोगले जनाएको छ ।

Loading...