गोदावरी-७ लालपुरको गौशालालाई ६ टन पशु आहारा सहयोग

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-७ मा रहेको गौशालालाई ६ टन पशु आहारा सहयोग गरिएको छ । गौशालामा रहेका गाईगोरुहरुको आहारकालागि राष्ट्रिय पशुपन्छी सेवा अन्तर्गत राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय हरिहरभवन ललितपुरले पशु आहारा सहयोग गरेको हो । अत्यधिक चिसो र आहारा अभावका कारण पशुहरूको स्वास्थ्यमा पर्न सक्ने नकारात्मक असरलाई ध्यानमा राख्दै शनिबार उक्त पशु आहारा सहयोग हस्तान्तरण गरिएको छ ।

शनिबार गौशालामै पुगेर राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा.आभास पौडेल र राष्ट्रिय पशु आहारा तथा लाईभस्टक गुण व्यवस्थापन प्रयोगशालाका प्रमुख पशु विकास अधिकृत हेमराज अवस्थीले गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट, प्रमुख प्रसासकीय अधिकृत धर्मराज विनाडी र गौशालाका संरक्षक यतिराज कँडेललाई उक्त ६ टन पशु आहारा सहयोग हस्तान्तरण गरेका हुन् ।

पशु आहारा सहयोग हस्तान्तरण पश्चात बोल्दै डा.आभास पौडेलले गौशालामा चिसो र आहार नपाएर पशुचौपायहरु मर्न थालेको खबर पाएपछि राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालयले ६ टन आहारा सहयोग गरेको बताए । उनले चिसो मौसममा पशुहरू सबैभन्दा बढी जोखिममा रहने भएकाले समयमै गरिएको आहारा सहयोगले पशुहरूको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुग्ने बताएका छन भने पशु कल्याण केवल पशुको मात्र नभई मानव स्वास्थ्य र सामाजिक उत्तरदायित्वसँग पनि प्रत्यक्ष जोडिएको विषय भएको स्पष्ट पारे ।

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले आफ्नो पालिकाभित्र रहेको गौशालालाई राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालयले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै स्थानीय सरकारले पनि पशु संरक्षण र व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताए । उनले छाडा पशुचौपायलाई नगरपालिकाले रोकथाम तथा गौशालामा संरक्षण गर्दागर्दै पनि अत्याधिक चिसोका कारण कमजोर अवस्थाका पशुहरु मरेका बताए । सोहि समयमा केही व्यक्तिहरुले आक्रोसमा आएर गौशालामा तोडफोड सहित पशुचौपायलाई गौशालाबाट बाहिर निकालेर सडकमा छोड्नु गलत रहेको बताउदै उनले अपठेरो परेको बेला सबैले सहयोग गर्नुपर्नेमा असहयोग नगर्न आग्रह गरेका छन् । गौशालामा रहेको तदर्थ समितीले अब नयाँ समिती गठन गर्ने प्रक्रियामा अगाढी बढेको बताउदै सबैले हातेमालो गरेर गौशाला सञ्चालनमा सहयोग रहने अपेक्षा गरेको बताएका छन् ।

त्यसैगरी गोदावरीका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले गौशालामा एउटा व्यवस्थापक र चार जना हेरालु राखेर नगरपालिकाले पशुचौपायको संरक्षण गरिरहेको बताए । उनले अत्याधिक चिसोका कारणले गौशालामा रहेका केही गाईगोरुहरु मरेपछि अहिले नगरपालिकाले गौशालाको व्यवस्थापनलाई थप चुस्तदुरुस्त पारेको बताए । उनले गाईगोरुका लागि अहिले नियमित आहार, पानि, नुन लगायतका आहारहरुको व्यवस्था गरेको बताउदै शनिबार गरेको पशु आहारा सहयोगले निकै राहत पुग्ने र सहयोगका लागि राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवर्द्धनलाई धन्यवाद दिदै आगामि दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए । त्यस्तै राष्ट्रिय पशु आहारा तथा लाईभस्टक गुण व्यवस्थापन प्रयोगशालाका प्रमुख पशु विकास अधिकृत अवस्थीले गौशाला व्यवस्थीत रहेको तर अत्याधिक चिसो र आहारको अभावले भोकरीका कारण गाईगोरु मरेको हुनसक्ने बताउदै उनले रोगलागेका बुढा गाईगोरुहरुलाई खुवाउन पौष्टिक आहार उपलब्ध गराईएको बताए ।

पालिका क्षेत्र भित्र रहेका छाडा पशुचौपायाहरुको व्यवस्थापनका लागि गोदावरी नगरपालिकाले वडा नम्बर ७ मा रहेको गोलादेवी सामुदायिक वनमा प्रदेश सरकारको आथिृक सहयोगमा व्यवस्थित रूपमा गौशाला निर्माण गरेको छ । ठुलो लगानीमा निर्माण गरिएको गौशालाको क्षमताभन्दा बढी गाईबस्तु व्यवस्थापन गर्नुपर्दा कठिनाइ आएको जनाउँदै सम्बन्धित समितिले सबै पक्ष र स्थानीयवासीलाई सहयोगका लागि आग्रह गरेको छ । उक्त गौशालामा कम संख्यामा गाईबस्तु अटाउने रहेतापनि क्षमताभन्दा बढी गाईबस्तु राखिएकाले आहारको कमि भएर भोकले र अत्याधिक चिसोले केही गाईगोरु मरेका थिए ।अहिले छाडा पशुचौपाया बजार तथा सडकमा जताततै देखिन थालेका छन् भने किसानहरुले लगाएको बालीनालीमा समेत ठूलो क्षति पुयाईरहेका छन् ।

Loading...