अत्तरिया : प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेस कैलाली क्षेत्र नं. ४ ले बसन्त रोकाया (ललित) लाई निर्वाचन कमाण्ड तोकेको छ । अत्तरियामा शनिबार बसेको कांग्रेस कैलाली क्षेत्र नं. ४ को निर्वाचन लक्षित रणनिति केन्द्रित वैठकले कांग्रेसका क्षेत्रिय सभापति समेत रहेका रोकायालाई निर्वाचन कमाण्ड तोकेको हो ।
बैठकले रोकायाको संयोजकत्वमा क्षेत्रीय मूल निर्वाचन समिति गठन गर्ने निर्णय गरेको छ । निर्वाचनको तयारीलाई प्रभावकारी बनाउन पार्टीका सबै तहका संरचना परिचालन गर्ने तथा उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्ने रणनीतिमा कांग्रेस अघि बढेको क्षेत्रिय सभापति रोकायाले बताए ।
कैलाली क्षेत्र नम्बर-४ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभाको निर्वाचनका लागि गोरख बहादुर विष्ट (आनन्द) उम्मेदवार रहेका छन् । यसअघि यो क्षेत्रबाट कांग्रेसकै उम्मेदवार बीर बहादुर बलायर निर्वाचित भएका थिए । कांग्रेसलाई कैलाली क्षेत्र नं. ४ मा आफ्नो विरासत जोगाउनुपर्ने अवस्था पनि रहेकाले सबै नेता कार्यकर्ताहरुलाई एकजुट भएर निर्वाचनमा सहयोग गर्न अपिल पनि गरिएको सभापति रोकायाले बताए ।