धनगढी : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) ले कैलाली क्षेत्र नम्बर ५ मा प्रचारप्रसारको कमान्ड बिस्णु कुमार चन्दलाई दिएको छ । पार्टीले चुनावी गतिविधिलाई प्रभावकारी र व्यवस्थित बनाउन चन्दलाई प्रचारप्रसार संयोजकको जिम्मेवारी सुम्पिएको हो ।
एमाले कैलाली सचिवालय सदस्य तथा नेपाल खेलकुद महासङ्घका केन्द्रीय सचिव समेत रहेका चन्द लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन् । संगठन निर्माण, जनसम्पर्क विस्तार र चुनावी अभियान सञ्चालनमा अनुभव हासिल गरेका चन्दको क्षमता र लगनशीलतालाई मध्यनजर गर्दै उक्त जिम्मेवारी दिइएको पार्टीले जनाएको छ ।
प्रचारप्रसार संयोजकको जिम्मेवारी पाएसँगै चन्दले कैलाली-५ मा पार्टीको अभियानलाई थप सशक्त बनाउने बताएका छन् । उनले पार्टीका नीति, कार्यक्रम र उम्मेदवारको एजेन्डालाई घर-घरमा पुर्याउने गरी व्यापक प्रचारप्रसार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै स्थानीय नेता-कार्यकर्ता, भातृ संगठन र शुभेच्छुकहरूलाई एकताबद्ध गर्दै परिणाममुखी अभियान सञ्चालन गरिने उनको भनाइ छ ।
कैलाली क्षेत्र नम्बर ५ बाट एमालेले यज्ञराज ढुंगानालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । पार्टीले ढुंगानाको उम्मेदवारीलाई जितसम्म पुर्याउन संगठन सुदृढीकरण, जनसम्पर्क अभियान र चुनावी गतिविधिलाई तीव्र बनाउँदै लैजाने रणनीति लिएको छ ।
एमालेले अनुभवी नेताहरूलाई जिम्मेवारी दिँदै चुनावी मैदानमा सक्रियता बढाएपछि कैलाली-५ को चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ ।