धनगढी : राजनितिमा बालबालिकाहरुको प्रयोग नगर्ने सुदूरपश्चिम प्रदेशका राजनितिक दलहरुले प्रतिबद्धता गरेका छन् ।
शुक्रबार धनगढीमा आयोजित राजनीतिक दल र नागरिक समाज बिच छलफल कार्यक्रममा प्रदेशमा रहेका विभिन्न दलहरुले बालबालिकाहरुको राजनितिक प्रयोग नगर्ने प्रतिबद्धता जनाएका हुन् ।
फागुन २१ गते हुन गईरहेको निर्वाचनमा राजनितिक दलहरुले बालबालिकाहरुको प्रयोग गरिरहेको गुनासो बढेसँगै आगामी दिनमा त्यस्तो प्रवृत्ति नदोहोरीने दलहरुले बताएका छन ।
उक्त प्रतिबद्धतापत्रमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य निपा चोलाख, नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य राजेश खाती, नेपाली कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य प्रेम विश्वकर्मा, स्वतन्त्र पार्टीका धनगढी नगर सभापति तुलाराम खनाल लगायतका नेताहरूले हस्ताक्षर गरेका छन् ।
प्रतिबद्धतापत्रमा बालबालिकाको सर्वतोमुखी सम्मान, सामाजिक समावेशीकरण, गुणस्तरीय शिक्षा, अर्थपूर्ण सहभागिता र सुरक्षा सुनिश्चित गर्न आवश्यक नीति, कानून निर्माण तथा बजेट विनियोजनका लागि प्रदेश र संघीय सरकारसमक्ष पहल गर्ने उल्लेख गरिएको छ ।
सामुदायिक बिकाश केन्द्र (सिडिसी) डोटीका सहसचिव टेकराज अबस्थीको अध्यक्षतामा भएको कार्यक्रममा एकराज बडुले सहजिकरण गरेका थिए ।
