कैलाली-४ का स्वतन्त्र उम्मेदवार छत्र भट्टले गरे प्रतिबद्धता पत्र सार्वजनिक
प्रतिबद्धता ‘नो सेटलमेन्ट वन्ली डेभलपमेन्ट’
अत्तरिया : फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार छत्र भट्टले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । शुक्रबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
उनले चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै आफूले सेटलमेन्ट (सम्झौता) मा भन्दा पनि डेभलपमेन्ट (विकास)मा बढी ध्यान दिने बताएका छन् । सुदूरपश्चिमका पर्यटकीय क्षेत्रहरूको विकासका लागि पनि आफूले विभिन्न योजनाहरू बनाएको बताए ।
निर्वाचनमा चुनाव चिन्ह ‘आँपको दाना’ लिएर मैदानमा उत्रिएका भट्टले यस क्षेत्रमा रोजगार सेवा केन्द्रको स्थापना गरी एक घर एक रोजगारीको लागि पहल गर्नेदेखि अत्तरिया धनगढी ६ लेन सडकमा १२ वटा आकाशे पुल बनाउनेसम्मका महत्वकांक्षी योजना अघि सारेका छन् ।
उनले २०८४ मा गोदावरी धाममा लाग्ने महाकुम्भमा भारतबाट ५ करोड श्रद्धालु भित्र्याउने लक्ष्य रहेको बताएका छन् । त्यस्तै कैलाली ४ का १ लाख नागरिकलाई सन् २०२७ मा भारतको नासिक सहरको त्रम्बकेश्वर जोतिरलिंग मन्दिरमा लाग्ने महाकुम्भमा निःशुल्क दर्शन गराउने घोषणा गरेका छन् । यसका लागि आफ्नो सचिवालयमा आजैदेखि सम्पर्क राख्न पनि उनले आह्वान गरेका छन् ।
स्वतन्त्र उम्मेदवार भट्टले स्वास्थ्य, उद्योग/रोजगारी, शिक्षा/खेलकुद, पर्यटन, पूर्वाधार र कृषि गरी ६ ओटा बुँदामा प्रतिबद्धता सार्वजनिक गरेका छन् ।



