पढ्दै कमाउँदै कार्यक्रम अन्तरगत दुर्गालक्ष्मीका विद्यार्थीका लागि निःशुल्क कपाल काट्ने एकमहिने तालिम

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–२, अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा “पढ्दै कमाउँदै” कार्यक्रम अन्तर्गत कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि निःशुल्क कपाल काट्ने एकमहिने तालिम आजबाट सुरु भएको छ।

विद्यालयका प्रधानाध्यापक वीर सिंह महताले पढ्दै कमाएर आफ्नो पढाई खर्च र घरपरिवारलाई पनि सहयोग गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । उनले तालिम पश्चात् विद्यार्थी आफ्नो गाउँठाउ र अत्तरिया बजार क्षेत्रमा पनि काम गर्न सक्ने बताए । उनले तालिम अवधिमा विद्यार्थीले निःशुल्क कपाल काट्ने बताए ।

तालिमको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिदत्त भट्टराईले गर्नुभएको हो। कार्यक्रममा बोल्दै उहाँले शिक्षासँगै सीप विकासलाई जोड्दै विद्यार्थीलाई आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो। “सीप सिकौँ, आत्मनिर्भर बनौँ” भन्ने मूल नारासहित सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत विद्यार्थीहरूले कपाल काट्ने व्यावसायिक सीप हासिल गर्नुका साथै भविष्यमा स्वरोजगार बन्ने, पार्टटाइम काम गरेर आम्दानी गर्न सक्ने र उद्यमशीलता विकास गर्ने अवसर प्राप्त गर्ने विद्यालयले जनाएको छ।

कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले एक महिनासम्म सर्वसाधारण तथा विद्यार्थीहरूलाई निःशुल्क रूपमा कपाल काट्ने सेवा प्रदान गर्नेछन्। सेवा प्रदान गर्दा स्वास्थ्य सुरक्षालाई विशेष प्राथमिकता दिइने जनाइएको छ। बजारमा असुरक्षित ढङ्गले कपाल काट्ने प्रवृत्तिलाई न्यूनीकरण गर्दै ग्राहकलाई सुरक्षित र स्वच्छ सेवा उपलब्ध गराउने लक्ष्यसहित तालिमार्थी विद्यार्थीहरूले मास्क, ग्लोभ्स लगायतका आवश्यक सुरक्षा सामग्री प्रयोग गरी सेवा दिनेछन्।

विद्यालयले “हाम्रो इच्छा आत्मनिर्भर शिक्षा, उद्देश्य पढ्दै कमाउँदै उज्ज्वल भविष्यको निर्माण गरौँ” भन्ने अवधारणालाई व्यवहारमा उतार्दै विद्यार्थीलाई सीपमूलक तथा रोजगारमुखी शिक्षासँग जोड्ने प्रयास गरेको जनाएको छ। उक्त कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास, व्यावसायिक दक्षता तथा आत्मनिर्भरताको भावना विकास गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

Loading...