केजी अस्पतालमा एक महिलाको मृत्यु: २२ लाखमा भयो सहमति

धनगढी: धनगढीस्थित केजी अस्पतालमा पथ्थरीको शल्यक्रियाका क्रममा कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ सुन्दरी फाँटाकी करिब ४५/४६ वर्षीया समारी देवी चौधरीको मृत्यु भएपछि अस्पताल प्रशासन र मृतकका आफन्तबीच २२ लाख रुपैयाँमा सहमति भएको छ ।

पथ्थरीको समस्याका कारण अस्पतालमा भर्ना भएकी चौधरीको साउन २१ गते शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि उनको मृत्यु भएपछि आफन्तले अस्पताल र उपचारमा संलग्न चिकित्सकको लापरवाहीका कारण घटना भएको आरोप लगाउँदै अस्पतालमा विरोध जनाएका थिए ।

घटनापछि अस्पताल प्रशासन, मृतकका परिवार तथा अन्य सरोकारवालाबीच भएको छलफलमा २२ लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको स्रोतले जनाएको छ । सहमतिपछि आन्दोलन र विवाद पनि साम्य भएको बताइएको छ । यद्यपि, चौधरीको मृत्युको वास्तविक कारणबारे अस्पतालले विस्तृत सार्वजनिक धारणा दिएको छैन भने आफन्तले सुरुमा उपचारमा लापरवाही भएको आरोप लगाएका थिए ।

आफन्तहरू आएपछि तनावपूर्ण बनेको केजी अस्पताल परिसरमा सुरक्षाकर्मीहरू बिहानले पहरा दिएका थिए । यसै विषयमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश सिंह विष्टसँग बुझ्दा दिउँसो करिब साँढे १ बजेपछि मात्रै आफन्त र अस्पताल प्रशासनका बीच सहमति भएको बताए ।

Deep Jyoti Pustak psl
Loading...